काठमाडौं– भोलि आइतबारदेखि जनकपुर र बिराटनगरबाटपनि श्रम स्वीकृति लिन सकिने व्यवस्था गरेको छ । उक्त व्यवस्था प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको मन्त्रीपरिषदले गत पौष ११ गते गरेको निर्णय गरेको थियो । यसअघि काठमाडौं र उपत्यकाबाहिर पोखरा र भैरहवाबाट मात्रै यस्तो सेवा लिन सकिने व्यवस्था थियो। प्रचण्ड नेतृत्व सरकारको मन्त्रीपरिषदको पहिलो बैठकले नागरिकहरूलाई प्रदान गर्दै आएका आधारभूत सेवा दिने निकायहरूको सेवा प्रवाहलाई सुगम, सरल र कम खर्चिलो झण्झटमुक्त बनाउने, यसमा देखिने गरी सुधारका कामहरू तत्काल आरम्भ गर्ने र कार्यान्वयन गर्ने निणर्य गरेको हो।
सोही निणर्य कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मातहतका मन्त्रालयहरूलाई कार्ययोजना निर्माण गरी कार्यान्वयनमा जान निर्देशन दिइसकेको जानकारी दिइएको छ । साथै सुर्खेत र धनगढीबाट पनि छिट्टै प्राविधिक तथा भौतिक तयारीपछि यो सेवा सुरु हुने बताइएको छ। यसअघि प्रदेशहरूबाटै श्रम स्वीकृत लिन नसकिने अवस्थाका कारण नागरिकले सास्ती पाएको गुनासो आएपछि वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित तुल्याउने प्रधानमन्त्रीको सोंचअनुसार श्रम स्वीकृतिका लागि कार्यालय बिस्तार गरिएको हो।
प्रधानमन्त्री प्रचण्डले सचिवहरूसँगको छलफलका क्रममा समेत नागरिकले राज्यबाट सेवा प्राप्त गर्न लामो लाइन र अन्य झन्झट व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीले आफ्नो निर्देशनलाई बढीमा एक महिनाभित्र परिणाम देखिने गरी कार्यान्वयन गर्न भनेपछि मन्त्रालयहरूले निर्देशनको कार्यान्वयनका लागि कार्ययोजना बनाएर काम गर्न थालेका छन्।


प्रतिक्रिया दिनुहोस्