देशभर चिसो बढ्दै, सचेत रहन आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ कार्तिक २०७९, शुक्रबार
4 Min Read
Aa

काठमाडौँ – पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताएको हो । तापक्रम घटेका कारण चिसो महशुस भएको वरिष्ठ मौसमविद् वरुण पौडेलले जनाएका छन ।

उनले अहिले पश्चिमबाट हावा चलेको र कहिलेकाही उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउने हुँदा चिसो हुने गरेको उल्लेख गरेका हुन । तुलनात्मक रुपमा यो हप्ता यत्तिकै चिसोको अवस्थामा रहने उनले जानकारी दिएका छन ।

- Advertisement -
Ad image

उनले भनेका छन्, ‘विस्तारै गर्मी समय सकिएर जाडोयाम तिर छिर्दैछौँ । मनसुनी वर्षा, गर्मीको समय थियो भने त्यो सकिएर अब हामी पोस्ट मनसुनमा लागेका छौँ । यो गर्मी सकिएको जाडो आउन लागेको अवस्था हो । अहिले नै जाडो पूरै भइसक्यो भन्ने अवस्था त छैन । यद्यपि मनसुन सकिएदेखि गतहप्ता देखि नै देशभरीको तापक्रम घट्दै गएको छ । रेकर्डेड तथ्याङ्कले पनि त्यहि भन्छ ।’

उनले थपे, ‘आज जुम्ला, जोमसोम, जिरी लगायतको क्षेत्रमा एक, जिरो डिग्रीको हाराहारीमा छ रातिको न्युनतम तापक्रम । जुन जाडो बढाउने तापक्रम हो । काठमाडौंमा पनि ११ डिग्रीको हाराहारीमा तापक्रम पुगेको छ आज बिहानको । त्यसैले तापक्रम घटेर चिसो महशुस भएको हो । यही किसिमले घट्दै घट्दै जान्छ भन्ने त छैन । कहिलेकाहीँ त्यही रेन्जमा रहने, कहिलेकाहीँ एक, दुई डिग्री बढ्ने पनि त्यस्तो खालको अक्टोबर, नोभेम्बर महिनामा त्यो रहन्छ ।’

उनले फेरि भनेका छन्, ‘जब डिसेम्बर शुरु हुन्छ, त्यसपछि बिस्तारै तापक्रमहरु घट्दै जाने, जाडो हुँदै जाने गर्दछ । यो महिनामा तुरुन्त त्यस्तो पानी पर्ने प्रणाली त छैन । तर बिस्तारै पश्चिमी वायुको प्रभाव रहेको हुनाले, पश्चिमी वायु कहिलेकाहीँ हिमालतिरबाट पनि आइदिन्छ । त्यसले गर्दा चिसो हुने, तापक्रम घट्ने देखिन्छ । त्यो भएर यो हप्ता त्यस्तो खालको चिसो देखिएको हो । प्राकृतिक रुपमा भएको हो ।’

अहिले पश्चिमबाट हावा चलेको अवस्था रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘त्यो हावा चल्दाखेरी कहिलेकाही उत्तरपश्चिमतिरबाट, हिमालतिरबाट आउँछ । कहिले सिधै पश्चिमबाट आउँछ । कहिले दक्षिणतिरबाट आउँछ । त्यो क्रममा कुनदिन कति जाडो भन्ने कुरा हुन्छ । तुलनात्मक रुपमा यो हप्ता यत्तिकै रहने देखिएको छ ।’

त्यस्तै उनले मनसुन सकिएर पोस्ट मनसुनको अवस्था भएकाले बिस्तारै जाडो हुँदै जानु स्वभाविक भएको बताए । उनले आगामी एकहप्ता भने वर्षा हुने सम्भावना नरहेको स्पष्ट पारे । जाडो बढ्ने र घट्ने कुरा भने हावाको वहाव कताबाट आएको छ त्यसले निर्धारण गर्ने उनको भनाइ छ ।

उनले भने, ‘चिसो लगातार घटेको घटेकै गर्दैन । कुनैदिन बादल लागेको अलिअलि चिसो हावा छ, उत्तरपश्चिमबाट हावा बहेको छ भने चिसो महशुस हुन्छ । दक्षिणपश्चिम अथवा हावाको दिशा कता बहन्छ त्यसमा निर्भर गर्ने गर्दछ । आकाशमा कत्तिको घाम लाग्छ दिउँसोको समयमा त्यसमा पनि भर पर्ने गर्दछ ।’

उनले थप भने, ‘दिउँसो बादल खुला भयो भनेदेखि दिनमा घाम लाग्नसक्यो । तापक्रम बढ्यो भने न्यानो महशुस हुन्छ । दिनप्रतिदिन गर्मी हुने अवस्था छैन । जाडो बिस्तारै हुँदै जाने गर्दछ । माइनसमा आएर कठ्यांग्रिने हुने पनि होइन । क्रमिक रुपमा जाडो क्रमशः बढ्दै जान्छ । वर्षा हुने सम्भावना एकहप्ता यता छैन ।’

त्यस्तै वरिष्ठ मौसमविद् पौडेलले डिसेम्बर महिनाबाट जाडो हुने उल्लेख गर्दै डिसेम्बर, जनवरी र फेब्रुअरीमा तराईमा हुस्सु र कुहिरो लाग्ने भएकाले अहिलेदेखि नै सचेत हुनुपर्ने बताए । उनले शीत लहरको अवस्था पनि आउन सक्ने भएकाले त्यसबाट बच्ने पूर्वतयारी गर्न सुझाव दिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्