काठमाडौँ – काठमाडौं महानगरपालिकाले रातिको समयमा सार्वजनिक स्थलमा लुकिछिपी फोहोर फाल्नेलाई कारबाही सुरु गरेको छ । रातिको समयमा सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई लक्षित गर्दै नगरप्रहरी खटाउन सुरु गरिएको हो ।
नगरप्रहरीका अनुसार सार्वजनिक स्थलमा जथाभावी फोहोर फाल्नेलाई फोहोरको प्रकृति र मात्रा हेरेर १ हजारदेखि २५ हजारसम्म जरिबाना तिराउने गरिएको छ । रातिको समयमा चारवटा समूह बनाएर खटिएको २० जनाको टोलीले जथाभावी फोहोर फालेको भेट्टाए तत्काल पक्राउ गरेर कार्यालयमा थुन्ने गरेको छ ।
महानगरको नीति बमोजिम जरिबाना तिराउने काम भइरहेको महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिएका छन । महानगरले फोहोरको दीर्घकालीन समाधान नखोज्दा पटक–पटक फोहोरको समस्या देखिँदै आएको छ ।
महानगरका अनुसार रातिको समयमा सार्वजनिक स्थलमा फोहोर फाल्ने प्रवृत्ति अन्त्य गर्न सो काम थालिएको हो । चर्को जरिबाना तिर्नुपर्ने डरले पनि फोहोर नफाल्ने बानी बसाल्न सजिलो हुने महानगरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्