काठमाडौं– वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुगेपछि उद्योगी तथा व्यवसायी आन्दोलित भएका छन् । गतवर्षको तुलनामा यसवर्ष तिर्नुपर्ने ब्याज दोब्बर भएपछि उनीहरुले तत्काल समस्या समाधान हुनुपर्ने माग गर्दै आएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पहिलो दुई महिनामा कर्जाको ब्याजदर औसत आठ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा १२ दशमलव ०६ प्रतिशत पुगेको छ । जुन तीन दशमलव ४९ प्रतिशत विन्दुले बढी हो ।
तर ब्याजदर वृद्धिले वाणिज्य बैंकको खुद नाफामा भने सकारात्मक प्रभाव देखिएको छ । वाणिज्य बैंकहरुले प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार खुद ब्याज नाफा २८ दशमलव ४४ प्रतिशतले बढेको छ । वाणिज्य बैंकहरुले चालु आवको त्रैमासमा रु ४९ अर्ब ६२ करोड ४३ लाख ९० हजार ब्याज नाफा आर्जन गरेको राष्ट्र बैंकले जानकारी दिएको छ । गत आवको सोही अवधिमा यस्तो नाफा रु ३५ अर्ब ६५ करोड ८६ लाख ७८ हजार थियो ।
चालू आवको समीक्षा अवधिमा सबैभन्दा बढी ब्याजबाट नाफा आर्जन गर्नेमा नबिल बैंक अगाडि छ । बैंकले यस अवधिमा रु तीन अर्ब ६७ करोड ७१ लाख ७९ हजार ब्याजबाट नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा नबिल बैंकको ब्याज नाफा रु दुई अर्ब २४ करोड १५ लाख २७ हजार थियो ।
ब्याजबाट बढी नाफा आर्जन गर्नेमा एनआइसी एसिया बैंक दोस्रो र ग्लोबल आईएमई बैंक तेस्रो नम्बरमा छन् । यी दुई बैंकले असोज मसान्तसम्ममा क्रमशः रु तीन अर्ब ४१ करोड ४ लाख ९६ हजार र रु तीन अर्ब २० करोड २७ लाख चार हजार खुद ब्याजबाट नाफा कमाएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको औसत आधारदर २०७८ भदौमा छ दशमलव ८९ प्रतिशत रहेकामा २०७९ भदौमा १० दशमलव एक प्रतिशत रहेको छ । २०७९ भदौमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर सात दशमलव ८१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२ दशमलव छ प्रतिशत पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्