माधव नेपाललाई कारबाही गर्न निर्वाचन आयोगको प्रहरीलाई पत्र

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं– निर्वाचन आयोगले एकीकृत समाजवादीका अध्यक्ष अर्थात रौतहट क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवकुमार नेपाललाई निर्वाचन प्रभावित पार्ने सम्बन्धी कसुरमा कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
आइतबार एक चुनावी कार्यक्रममा आफूले चुनाव जिते फ्रि भिसा फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने आश्वासन दिएका कारण कारबाहीको लागि निर्देशन दिएको आयोगले बताएको छ ।
निर्वाचन कसुर तथा सजायसम्बन्धी ऐन–२०७३ को दफा २० (१० च) मा कुनै उम्मेदवार वा प्रतिनिधिले कुनै लोभलालच वा आर्थिक प्रलोभन देखाउन नपाउने व्यवस्था रहेको छ ।
यसो गरेमा एक लाखसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुबै सजाय हुने ऐनमा व्यवस्था रहेको छ । यसको आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया नेपाल प्रहरीले गर्ने भएकाले आयोगले जिल्ला प्रहरी कार्यालय, रौतहटलाई पत्र लेखिसकेको छ ।
पत्रमा भनिएको छ, ‘श्री माधवकुमार नेपालबाट निर्वाचन सम्मुखमा युवाहरुलाई विदेश पठाउने भनि सार्वजनिक रुपमा प्रलोभन देखाउने कार्य गरेकाले सो सम्बन्धमा निर्वाचन (कसुर तथा सजाय ऐन) २०७३ को दफा ३९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अनुरोध छ ।’
आयोगले निर्वाचन आचार संहिताको उल्लंघनमा किन कारवाही नगर्ने भनी नेपाललाई स्पष्टीकरण पनि सोधेको छ । उनले पत्र पाएको २४ घण्टाभित्र निर्वाचन आयोगमा वा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा लिखित स्पष्टीकरण पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।

निर्वाचन आयोगको प्रहरीलाई पत्र

- Advertisement -
Ad imageAd image

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्