काठमाडौं– अब सरकारले विदेशमा सामान निर्यात गर्नेलाई नगद अनुदान दिने भएको छ । स्वदेशी उत्पादन निर्यातमा प्रोत्साहन गर्न निर्यात अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७९ (दोस्रो संशोधन) लागू गरेको हो । सरकारले निर्यातमा अनुदान पाउने वस्तु र उद्योगको वार्षिक निर्यात ५० करोड भन्दा बढी भए निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान प्रदान गरिने व्यवस्था गरेको हो । यस अघि वस्तु निर्यातमा कम्तीमा ३ देखि अधिकतम् ६ प्रतिशतसम्म नगद अनुदानको व्यवस्था थियो ।
५० करोड भन्दा कम मात्रामा वस्तु निर्यात गर्ने उद्योगले पाउने नगद अनुदान सीमा भने कम्तीमा ४ देखि मूल्य अभिवृद्धि र अघिल्लो वर्षको निर्यातको आधारमा अधिकतम ८ प्रतिशतसम्म अनुदान पाइने व्यवस्था कार्यविधिमा छ ।
अम्रिसो, फलफूल, दुग्धजन्य पदार्थ, सिमेन्ट, स्टिल, प्लाइउड, कत्था, क्लिङ्कर र रोजिन एण्ड टर्पिन्टाइन निर्यातका लागि अनुदान पाइने नयाँ सूचि हुन् ।
कार्यविधिको अनुसूची १ र २ का वस्तु तथा उत्पादनहरुले ३० प्रतिशतसम्म मूल्य अभिवृद्धि गरेर नियात गरे ४ प्रतिशत र ५० प्रतिशतमाथिको मूल्य अभिवृद्धि गरेर निर्यात गरे ५ प्रतिशत अनुदान पाउनेछन् । ३० र ५० प्रतिशत मूल्य अभिवृद्धि भएका वस्तुले मूल्य अभिवृद्धि बढाएर ७० र ८० प्रतिशत पुर्याएमा थप एक एक प्रतिशत अनुदान थप पाउने कार्यविवधिमा व्यवस्था रहेको छ ।
ट्रेडमार्क पाएकाले भने थप १ प्रतिशत अनुदान पाउनेछन् भने अघिल्लो वर्षको भन्दा २० प्रतिशतले निर्यात वृद्धि गरे पनि नगद अनुदान एक प्रतिशतले थप हुने उल्लेख छ ।
अनुदान लिनका लागि उद्योगी व्यवसायीले उद्योग विभागमा निवेदन पेस गर्नु पर्ने छ । यसरी दिइएको निवेदन विभागले प्रमाणित गरेर वाणिज्य बैंक तथा राष्ट्र बैंकलाई पत्राचार गर्नेछ । जसअनुसार सोधभर्नाअनुसार निर्यातकर्ताले अनुदान रकम प्राप्त गर्ने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्