प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ आश्विन २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौँ – रौतहट-३ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले) ले दिएको टिकट दिनभरि होल्ड गरेर अन्तिममा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ।

एमालेको टिकट पाएका साहले अन्तिममा स्वतन्त्र उम्मेदवारी दिएपछि उक्त क्षेत्रमा एमाले उम्मेदवारविहीन बनेको छ। स्वतन्त्र उम्मेदवारी दिएसँगै साहले एमालेमा नरहेको घोषणा गरिसकेका छन्। उनी एमाले स्थायी कमिटी सदस्य थिए।

- Advertisement -
Ad image

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले रौतहट९३ मा आफ्नो पार्टीका उम्मेदवार रहे पनि गठबन्धनले साहलाई समर्थन गर्ने निर्णय भएको जानकारी दिए।

रौतहट९३ मा सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रका रवीन्द्र पटेल उम्मेदवार बनेका थिए।

यसअघिका तीन वटा निर्वाचन माओवादी केन्द्रबाट जितेका साह आफ्नो क्षेत्रमा बलियो प्रभाव राख्छन्। सोही क्षेत्रमा पर्ने मौलापुर नगरपालिकामा उनकी श्रीमती रिना साहले यसपालि दोस्रो पटक मेयर जितेकी छन्। २०७४ को चुनाव माओवादीबाट जितेकी उनी यसपालि एमालेबाट विजयी भएकी हुन्।

सशस्त्र युद्धका बेला नै भूमिगत भएका साह २०६४ र २०७० को संविधान सभामा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। २०७४ को चुनाव पनि उनले त्यहीँबाट जितेका थिए। माओवादी केन्द्रमै हुँदा साह तीन पटक मन्त्री भएका थिए। २०७७ पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उनी ओली सरकारको मन्त्री बनेका थिए।

माओवादी केन्द्र र एमालेको एकतालाई २०७७ फागुन २३ गते सर्वोच्च अदालतले खारेज गरिदिएपछि साहले एमाले रोजे। एमाले रोजेकै कारण माओवादी केन्द्रले उनको सांसद पद खारेज गरेको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्