चलचित्र नालापानीलाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ आश्विन २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौँ – ऐतिहासिक विषयवस्तुमा बनेको नेपाली चलचित्र ‘नालापानी’लाई कर छुट दिन पहल सुरु भएको छ ।चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफूले यो चलचित्रलाई कर छुट प्रदान गर्न पहल सुरु गरेको बताए ।

‘बुधबार सञ्चार सचिव डा. बैकुण्ठ अर्यालसँगको भेटमा नालापानीलाई कर छुट प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छु । सचिवले तुरुन्तै अर्थ मन्त्रालयमा पत्राचार गर्नुभएको छ,’ केसीले भने, ‘नेपालको गौरवगाथा बोकेको यो चलचित्र नेपालको ऐतिहासिक विषयमा बनेको हुँदा र चलचित्र विकास बोर्डले विशेष चलचित्र घोषणा गरी राष्ट्रपतिबाट सम्मान प्राप्त गरिसकेकाले पनि कर छुटको लागि योग्य छ भनेर मैले पहल सुरु गरेको हुँ । यति मात्रै नभएर हलमा देखाइने विज्ञापनलगायतमा पनि मैले सहजीकरणका लागि पहल गरिरहेको छु ।’

- Advertisement -
Ad image

नालापानीका निर्माता तथा निर्देशक रिमेश अधिकारीले ढिलै भए पनि राज्यले सुविधा दिन खोजेकोमा खुसी व्यक्त गरेका छन् । उनले भने, ‘हिजो सञ्चार मन्त्रालयका सचिव, उपसचिव, सहसचिव र चलचित्र विकास बोर्डका अध्यक्षसहितको बैठकमा यो चलचित्रलाई सुविधा प्रदान गर्ने विषयमा गहन छलफल भयो । सचिवले विज्ञापनका लागि विभिन्न निकायमा पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले स्थानीयसहितका विभिन्न कर छुटका लागि अर्थ मन्त्रालयलाई अनुरोध गर्न पत्राचार गर्नुभएको छ । यस बिषयमा बोर्ड अध्यक्ष भुवन केसीले देखाउनुभएको अग्रसरताबाट म खुसी छु ।’

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज-नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर ‘नालापानी’ निर्माण भएको हो ।

यसमा वीर योद्धा कुँवर र उनका ६ सय सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए भन्ने कुरा जीवन्त देखाइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्