वडा अध्यक्षविरुद्ध कार्यपालिका सदस्य आन्दोलित, तालाबन्दी गर्ने चेतावनी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ भाद्र २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ – अछामको तुर्माखाँद गाउँपालिकामा वडा अध्यक्ष डम्बर बिसीले मनोमानी ढङ्गले काम गरेको भन्दै जनप्रतिनिधिहरू आन्दोलित भएका छन् । अध्यक्ष बिसीले एक्लौटी निर्णय गरेको भन्दै ८ मध्ये ६ वडाका वडाध्यक्ष र ६ जना कार्यपालिका सदस्यसहित १२ जना कार्यपालिका सदस्य आन्दोलित भएका हुन् ।

एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष बिसीका निर्णयविरुद्ध नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यहरू आन्दोलित भएका हुन् । भदौ ८ गते १२ जना कार्यपालिका सदस्यले विभिन्न चार बुँदे माग राखेर गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाएका थिए । उनीहरूले कार्यपालिकामा सल्लाह नै नगरी प्रमुख प्रशासकीय अधिकृत ल्याएको, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत आफूखुसी योजना सिफारिस गरेको, कर्णाली जल परियोजनाको कार्यक्रममा आफूहरूलाई जानकारी नै नदिई कर्मचारी छनोट गरेको र कार्यपालिकामा छलफल नै नगरी गाउँपालिकाले भाडामा प्रयोग गरिरहेका घरहरूको म्याद थप नगर्नेसम्बन्धी सूचना निकालेको आरोप लगाएका छन् ।

सोही दिन गाउँपालिकाले घर भाडा सम्झौता नवीकरण नहुने सूचना निकालेको थियो । त्यस विरुद्ध उनीहरूले गत सोमबारदेखि गाउँपालिकाको कार्यालयमा धर्ना दिइरहेका छन् । भोलि (बिहीबार) गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा तालाबन्दी गर्ने घोषणा गरेका छन् । त्यसपछि पनि आफूहरूका माग सुनुवाइ नभए शुक्रबार (भदौ १७ गते) गाउँपालिकाका सबै कार्यालय र शाखामा तालाबन्दी गर्ने उनीहरूको पूर्वनिर्धारित कार्यक्रम छ ।

गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत अहिले बिदामा छन् । आन्दोलित पक्षले आफूहरूका मागबारे संवेदनशील नभएर अध्यक्ष भागेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array