काठमाडौं – साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेप्सेमा सकारात्मक लय कायम रहँदा कारोबार रकममा समेत उल्लेख्य सुधार देखिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार नेप्से परिसूचक ८.७० अंकले बढेर २,६४७.६५ विन्दुमा पुगेको छ। सोमबार २.२६ अंक र मंगलबार १५.३९ अंकले बढेको बजारमा लगातार तेस्रो दिन वृद्धि देखिएको हो।
परिसूचकसँगै बजारको तरलता र लगानीकर्ताको सक्रियता पनि बढेको छ। मंगलबार ५ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार ३५६ कम्पनीका १ करोड ६५ लाख २३ हजार ९७४ कित्ता सेयर ५२ हजार ६६९ पटक किनबेच हुँदा कुल ६ अर्ब १४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारमा आएका कम्पनीमध्ये १७० वटाको सेयर मूल्य बढेको छ भने १०१ वटाको घटेको छ र ८ कम्पनीको मूल्य स्थिर रहेको छ।
समूहगत परिसूचकतर्फ बुधबार होटल तथा पर्यटन, उत्पादनमूलक र लघुवित्तबाहेक अन्य सबै उपसमूहमा हरियाली छाएको छ। बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत्, लगानी, जीवन बीमा, निर्जीवन बीमा, व्यापार र म्युचुअल फन्ड समूह उकालो लाग्दा बजारलाई टेवा पुगेको हो।
यस दिन मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १०.९८ प्रतिशतले बढेको छ भने कारोबार रकमका आधारमा हिमालय ऊर्जा विकास कम्पनी अग्रस्थानमा रहँदै करिब ३४ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।


प्रतिक्रिया दिनुहोस्