काठमाडौं – निर्वाचन आयोगले नेपाली कांग्रेसको नयाँ कार्यसमिति आधिकारिक रूपमा अद्यावधिक गरेको छ। गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आयोगले दल दर्ता किताबमा अद्यावधिक गरेको हो।
कांग्रेसले गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित २३१ सदस्यीय नयाँ कार्यसमितिको विवरण गत कात्तिक १६ गते आयोगमा बुझाएको थियो। उक्त विवरणमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूको नामावली, संशोधित विधान, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज र महत्त्वपूर्ण निर्णयहरू समावेश थिए।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ को उपदफा ३ अनुसार पदाधिकारी हेरफेर भएमा आयोगले दल दर्ता किताबमा सोहीबमोजिम विवरण अद्यावधिक गर्नुपर्ने कानुनी व्यवस्था छ।
साथै, निर्वाचित केन्द्रीय समिति र प्रदेश समितिको विवरण निर्वाचन भएको एक महिनाभित्र आयोगलाई उपलब्ध गराउनुपर्ने प्रावधान पनि सोही दफामा उल्लेख छ।
आयोगले कांग्रेसद्वारा पेस गरिएका कागजात र संशोधित विधानको लामो समय अध्ययन गरेपछि आज उक्त विवरण अद्यावधिक गरेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कांग्रेसको १५औँ महाधिवेशनबाट आएको समितिको विवरण अद्यावधिक गरिएको जानकारी दिएका छन्।
सर्वोच्च अदालतमा नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद भने अझै पनि विचाराधीन अवस्थामा छ। पार्टीभित्रको आन्तरिक विवादका कारण कांग्रेस अहिले दुई खेमामा विभाजित देखिएको छ।
एकातर्फ गगन थापाको नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न भइसकेको छ भने अर्कातर्फ निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पनि छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाएको छ।
सर्वोच्च अदालतले गत साउन २१ गते पुनरावलोकनको निस्सा प्रदान गरेसँगै पार्टीको आधिकारिकतासम्बन्धी विवाद पुनः अदालतमा विचाराधीन बन्न पुगेको छ। यसरी अदालतमा मुद्दा विचाराधीन रहेकै बेला आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई अद्यावधिक गरेको यो निर्णयले राजनीतिक वृत्तमा नयाँ चर्चा सिर्जना गरेको छ।


प्रतिक्रिया दिनुहोस्