छैटौँ संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणालीमा लिग खेलाउने सरकारी लक्ष्य, तीन महिनाभित्र निर्माण सुरु गरिने
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज टोलीका लागि छुट्टाछुट्टै डेडिकेटेड क्रिकेट रङ्गशाला निर्माण गर्ने विषयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पहल थालेका हुन्। यस विषयमा ठोस छलफल गर्न मन्त्री पोखरेलले एनपीएलका आठै फ्रेन्चाइज मालिकलाई भोलि दिउँसो ३ बजे मन्त्रालयमा बोलाएका छन्।
यसअघि प्रधानमन्त्री बालेन शाहले गत शनिबार सामाजिक सञ्जालमार्फत एनपीएलको छैटौँ संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्यसहित आठवटै क्लबका लागि छुट्टाछुट्टै रङ्गशाला बनाउने घोषणा गरेका थिए। सोही घोषणालाई कार्यान्वयनमा लैजान र सरोकारवालाहरूसँग समन्वय गर्न खेलकुद मन्त्रालयले छलफल अघि बढाएको हो।
तीन महिनाभित्र निर्माण सुरु गर्ने योजना
मन्त्रालयका अनुसार देशका विभिन्न भागमा निर्माण गरिने यी रङ्गशालाहरू आधुनिक र फ्लडलाइटयुक्त हुनेछन्। सरकारको पूर्वाधार विकास मन्त्रालयमार्फत रङ्गशाला निर्माणको काम अघि बढाइने जनाइएको छ।
हाल धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने बाँकी सातवटा रङ्गशालाको निर्माण कार्य आगामी तीन महिनाभित्र सुरु गर्ने सरकारको योजना रहेको छ।
कुन फ्रेन्चाइजका लागि कुन रङ्गशाला ?
सरकारको योजनाअनुसार एनपीएलका आठ फ्रेन्चाइज टोलीहरूका लागि देहायबमोजिमका रङ्गशालाहरू प्रस्ताव गरिएका छन् :
• विराटनगर किंग्स : बैजनाथपुर क्रिकेट रङ्गशाला
• जनकपुर बोल्ट्स : रामजानकी क्रिकेट रङ्गशाला
• काठमाडौँ गुर्खाज : कीर्तिपुर क्रिकेट मैदान
• चितवन राइनोज : गौतमबुद्ध क्रिकेट रङ्गशाला
• पोखरा एभेन्जर्स : पोखरा क्रिकेट रङ्गशाला
• लुम्बिनी लायन्स : सिद्धार्थ क्रिकेट रङ्गशाला
• कर्णाली याक्स : सुर्खेत क्रिकेट रङ्गशाला
• सुदूरपश्चिम रोयल्स : फाप्ला क्रिकेट रङ्गशाला
भोलि हुने छलफलले रङ्गशाला निर्माणको मोडालिटी, फ्रेन्चाइज टोलीहरूको भूमिका र आगामी कार्ययोजनाबारे स्पष्ट खाका तयार पार्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्