काठमाडौं – प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौँ संस्करणदेखि प्रतियोगितालाई ‘होम एन्ड अवे’ प्रणालीमा लैजाने गरी आठवटै फ्रेन्चाइज टोलीका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन्।
शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न एनपीएलको तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सले उपाधि जितेपछि विजेता तथा उपविजेता टोलीलाई बधाई दिँदै प्रधानमन्त्री शाहले नेपाली क्रिकेटको पूर्वाधार विकासका लागि यस्तो महत्त्वपूर्ण घोषणा गरेका हुन्।
सरकारको योजनाअनुसार आठवटै क्लबका लागि निर्माण गरिने यी अत्याधुनिक रंगशालाहरू नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछन्। जसमध्ये सुदूरपश्चिम रोयल्सको घरेलु मैदानका रूपमा प्रस्तावित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया आगामी तीन महिनाभित्र सुरु गरिने प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
सार्वजनिक विवरणअनुसार विभिन्न फ्रेन्चाइज टोलीका लागि सुदूरपश्चिम रोयल्सको फाप्ला क्रिकेट रंगशाला, कर्णाली याक्सको सुर्खेत क्रिकेट रंगशाला, लुम्बिनी लायन्सको सिद्धार्थ क्रिकेट रंगशाला र पोखरा एभेन्जर्सको पोखरा क्रिकेट रंगशालामा फ्लडलाइटसहितका संरचना निर्माण गरिनेछ।
त्यस्तै, काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला र विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला निर्माण गर्ने सरकारको योजना छ। बाँकी एक टोली चितवन राइनोजको घरेलु मैदानका रूपमा चितवनस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला रहने अपेक्षा गरिएको छ।
आफ्नै घरेलु मैदान र रात्रिकालीन खेलका लागि फ्लडलाइटको व्यवस्था भएसँगै एनपीएलको छैटौँ संस्करणबाट नेपाली क्रिकेट थप व्यावसायिक र अन्तर्राष्ट्रिय स्तरको बन्ने विश्वास लिइएको छ।


प्रतिक्रिया दिनुहोस्