काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज हुने भनिएको सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल विवादका कारण अन्योलमा परेको छ। दिनभरिको वर्षाका कारण खेल ढिला भएपछि अम्पायरहरूले म्याचलाई ५–५ ओभरमा छोट्याउने निर्णय गरेसँगै विवाद सुरु भएको हो।
घटाइएको ओभरको खेल तालिकाप्रति असहमति जनाउँदै सुदूरपश्चिम रोयल्सका खेलाडीहरूले मैदान छाडेका छन्। सुदूरपश्चिमका मुख्य प्रशिक्षक मिस्बाह उल हक, कप्तान दीपेन्द्रसिंह ऐरी, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र खेल पदाधिकारीहरूबीच मैदानमै लामो छलफल भए पनि कुनै सहमति जुट्न सकेन।
छलफल निष्कर्षविहीन बनेपछि कप्तान दीपेन्द्रसिंह ऐरीसहित सुदूरपश्चिमका खेलाडीहरूले मैदान बाहिरिएका हुन्। टोली बाहिरिँदा मैदानमा ओपनर विनोद भण्डारी मात्र बाँकी थिए भने विराटनगर किंग्सका खेलाडीहरू मैदानमै टसको प्रतीक्षामा बसिरहेका छन्।
दिनभरिको झरी सहेर खेल हेर्न रंगशाला पुगेका हजारौँ क्रिकेट समर्थकहरू भने खेल सुरु नभएपछि निराश र आक्रोशित बनेका छन्। हुटिङ गर्दै दर्शकहरूले तत्काल टस गरेर खेल अघि बढाउन माग गरिरहेका छन्। कतिपय दर्शकहरूले मोबाइलको फ्ल्यासलाइट बालेर दबाब दिएका छन् भने कतिपयले तिहारको देउसीभैलोको लयमा ‘खेल चाँडो सुरु गर देउसीरे’ भन्दै ढिलाइप्रति ब्यङ्ग्य गरिरहेका छन्।
सुदूरपश्चिमले खेल बहिस्कार गरेमा नियमअनुसार विराटनगरले अंक पाउने सम्भावना छ।


प्रतिक्रिया दिनुहोस्