काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकार तथा सञ्चारकर्मीमाथि भएको धरपकडको घटनालाई गम्भीर रूपमा लिँदै दोषी पहिचान गरी तत्काल कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।
रास्वपाको सचिवालय बैठकले समाचार कक्षमै प्रवेश गरी सञ्चारकर्मीमाथि सोधपुछ तथा धरपकड गरिएको घटनाको छानबिन गर्न सरकारलाई आग्रह गरेको हो।
बैठकपछि पार्टी प्रवक्ता जगदीश खरेलले पत्रकारमाथि भएको घटनाको वास्तविकता पत्ता लगाई संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न सरकारलाई स्पष्ट निर्देशन दिइएको बताए।
उनका अनुसार रास्वपा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन र मानवअधिकारको पक्षमा दृढ छ। पत्रकारिताको स्वतन्त्रताका विषयमा पार्टीले कुनै पनि अवस्थामा सम्झौता नगर्ने उनको भनाइ छ।
‘समाचार कक्षमै प्रवेश गरेर पत्रकार तथा सञ्चारकर्मीमाथि सोधखोज गर्ने काम किन र कसरी भयो भन्ने विषयमा छानबिन हुनुपर्छ,’ प्रवक्ता खरेलले भने, ‘घटनामा संलग्नलाई पहिचान गरी शीघ्र कारबाही गरेर परिणाम देखाउन सरकारलाई निर्देशन दिएका छौँ।’
प्रधानमन्त्री कार्यालयले घटनामा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको विषयमा पनि सचिवालय बैठकमा छलफल भएको उनले जानकारी दिए। प्रधानमन्त्री कार्यालयको संलग्नता नरहेको भए पनि घटनाको जिम्मेवारी र संलग्न व्यक्तिको पहिचान गरी आवश्यक कारबाही गर्नुपर्ने रास्वपाको धारणा छ।
रास्वपाले आफूले अंगीकार गरेको सामाजिक लोकतन्त्रको आधारभूत मान्यतामध्ये प्रेस स्वतन्त्रता पनि महत्वपूर्ण रहेको जनाएको छ। प्रवक्ता खरेलले संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा पार्टी दृढ रहेको बताए।


प्रतिक्रिया दिनुहोस्