बारा – बारा जिल्लाको फेटा गाउँपालिका–३ स्थित फेटा गाउँमा अधुरो अवस्थामा रहेको नवनिर्मित स्वास्थ्य चौकी भवन जबर्जस्ती उद्घाटन गर्न खोजिएको घटनाप्रति राष्ट्रिय एकता दल, बाराले गम्भीर आपत्ति जनाएको छ।
स्थानीयवासीले भवनको निर्माण गुणस्तर र अपूर्ण संरचनाबारे शान्तिपूर्ण विरोध गरिरहेका बेला प्रशासनले बल प्रयोग गर्दा स्थानीय युवा आदित्य पासवान गोली लागेर गम्भीर घाइते भएको भन्दै दलले घटनाको घोर भर्त्सना गरेको छ।
राष्ट्रिय एकता दल, बाराका जिल्ला अध्यक्ष अखिलेश कुशवाहाद्वारा जारी प्रेस विज्ञप्तिमा अधुरो स्वास्थ्य चौकी भवनको गुणस्तर र औचित्यमाथि स्थानीय जनताले उठाएका जायज प्रश्नलाई बेवास्ता गर्दै प्रशासनिक शक्ति र बलको प्रयोग गरी उद्घाटन गर्न खोज्नु निन्दनीय भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा सार्वजनिक संरचनाको गुणस्तर र निर्माण सम्पन्नताबारे प्रश्न उठाउनु नागरिकको लोकतान्त्रिक अधिकार भएको उल्लेख गर्दै जनताको आवाज दबाउन गोली र लाठीको सहारा लिनु प्रशासनको गैरजिम्मेवार तथा दमनकारी कार्यशैली भएको आरोप लगाइएको छ।
दलले गोली लागी गम्भीर घाइते भएका आदित्य पासवानको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने, शान्तिपूर्ण विरोधमा रहेका नागरिकमाथि गोली चलाउन आदेश दिने तथा घटनामा संलग्न दोषीहरूको निष्पक्ष छानबिन गरी कडा कारबाही गर्नुपर्ने माग गरेको छ।
त्यसैगरी, अधुरो अवस्थामा रहेको स्वास्थ्य चौकी भवनको निष्पक्ष प्राविधिक छानबिन गरी निर्माणको गुणस्तर सुनिश्चित गर्दै सम्पूर्ण काम सम्पन्न भएपछि मात्र सञ्चालनमा ल्याउनुपर्ने माग पनि दलले अघि सारेको छ।
स्थानीय जनताको जायज माग र आवाजलाई बल प्रयोग गरेर दबाउने प्रयास तत्काल बन्द गर्न प्रशासनलाई चेतावनी दिँदै राष्ट्रिय एकता दल, बाराले माग सम्बोधन नभए स्थानीय जनताको साथमा रहेर कडा आन्दोलनमा उत्रिने जनाएको छ।
जिल्ला अध्यक्ष अखिलेश कुशवाहाले नागरिकको जिउधनको सुरक्षा गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै शान्तिपूर्ण विरोधमाथि बल प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।



प्रतिक्रिया दिनुहोस्