काठमाडौं – हिरासतमा रहेका विवादास्पद बिचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्यायाधीशहरू र नेपाल प्रहरीका उच्च अधिकारीहरूको नाम जोडिएका विषयहरू सार्वजनिक भएपछि न्यायपालिका र सुरक्षा निकायभित्र ठूलो हलचल पैदा भएको छ।
यसै विषयमा उत्पन्न गम्भीर परिस्थितिबारे छलफल गर्न र अदालतको आगामी कदम तय गर्न प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आज बिहान ९ बजेका लागि सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) आह्वान गरेका छन्।
प्रहरीको नियन्त्रणमा रहेका सापकोटाको मोबाइल लगायतका ग्याजेटहरूबाट विभिन्न उच्च पदस्थ व्यक्तिहरूसँग भएका ह्वाट्सएप संवाद तथा म्यासेजका विवरणहरू बाहिरिएपछि सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीश हरि फुयाल र श्रीकान्त पौडेलले छुट्टाछुट्टै विज्ञप्तिमार्फत उक्त आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै आपत्ति जनाइसकेका छन्।
यसै क्रममा न्यायाधीश हरि फुयालले भने आफूमाथि महाभियोगको त्रास देखाइएको तत्कालीन पृष्ठभूमिमा सापकोटासँग सम्पर्क भएको र उनले आफूलाई प्रधानमन्त्री बालेन शाहको विशेष प्रतिनिधि, अमेरिकी दूतावासको विश्वासपात्र तथा भारतका लागि अमेरिकी राजदूत सर्जिओ गोरको विशेष सद्भावप्राप्त व्यक्तिका रूपमा चिनाएको खुलासा गरेका छन्।
न्यायाधीश फुयालका अनुसार सुरुमा सामान्य संरक्षणको आश्वासन दिएर सम्पर्कमा आएका सापकोटाले पछि भने विचाराधीन मुद्दाहरू, विशेष गरी नेपाली कांग्रेसको विवाद, रोहित गुप्ताको धरौटी मुद्दा, दीपक भट्टको बन्दीप्रत्यक्षीकरण र बीमा प्राधिकरणका पूर्वअध्यक्ष शरद ओझासँग सम्बन्धित मुद्दाहरूमा अदालतको आदेशलाई आफ्नो पक्षमा ढाल्न अस्वाभाविक चासो र दबाब दिन थालेका थिए।
सापकोटाले अदालतबाट आफूले चाहेजस्तो फैसला नआएमा महाभियोग लगाउने वा मुलुकमा ठूलो राजनीतिक ‘कू’ हुने भन्दै न्यायाधीशहरूलाई धम्काउने र रुखो व्यवहार देखाउने गरेका थिए।
सोझै र खुलमखुला रूपमा मुद्दाको सिफारिस गर्न थालेपछि न्यायाधीशहरूले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई बोलाएर उनको पृष्ठभूमि बुझ्न आग्रह गरेको भए पनि प्रहरी नेतृत्वले समेत उनी माथिल्लो पहुँचको व्यक्ति भएकाले जोगिएर बस्न सुझाव दिएको दाबी बाहिर आएको छ।
उता, हिरासतमा रहेका सापकोटासँग नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीसहितका अधिकारीहरूको नाम समेत जोडिएर समाचारहरू आएपछि नेपाल प्रहरीले पनि कडा प्रतिक्रिया दिएको छ।
प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले विज्ञप्ति जारी गर्दै प्रहरी संगठनलाई विवादमा तानेर सरकारविरुद्ध राजनीतिक खेल खेल्ने नियतले केही सीमित व्यक्तिहरूले भ्रामक र नियोजित प्रचारबाजी गरेको दाबी गरेका छन्।
प्रहरी प्रधान कार्यालयमा बसेको पीसीसी बैठकपछि प्रहरीले सुरक्षा संगठनलाई कमजोर बनाउने प्रयास गर्नेहरूमाथि कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिँदै आम नागरिकलाई यस्ता अपुष्ट खबरको पछि नलाग्न अनुरोध गरेको छ।
यसैबीच, कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनका अध्यक्ष प्राध्यापक डा. विजयप्रसाद मिश्र र महासचिव केदार कोइरालाले न्यायालयको निष्पक्षता र मर्यादामाथि उठेका यस्ता गम्भीर प्रश्नहरूबारे निष्पक्ष र उच्चस्तरीय अनुसन्धान हुनुपर्ने माग गरेका छन्।
प्रहरीको जिल्ला परिसर काठमाडौँले सापकोटामाथि सम्पत्ति शुद्धीकरण लगायतका गम्भीर मुद्दामा म्याद थप गरी अनुसन्धान जारी राखेको छ भने आज बस्ने सर्वोच्चको फुलकोर्ट बैठकले न्यायपालिकाको छवि जोगाउन र सार्वजनिक भएका विषयहरूको छानबिनबारे महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्