भारतीय प्रियागोल्ड बिस्कुट आयात र बिक्रीमा पूर्ण रोक: मान्छेले खाने बिस्कुटमा गाईवस्तुको चोकर भेटियो, बजारबाट फिर्ता गर्न निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ कार्तिक २०८३, आईतवार
2 Min Read
Aa

काठमाडौँ – नेपाल सरकारले भारतीय ब्रान्डको लोकप्रिय ‘प्रियागोल्ड’ बिस्कुटको आयात, पैठारी तथा बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ। मानव स्वास्थ्यका लागि हानिकारक र गाईवस्तुलाई खुवाउने चोकर प्रयोग गरिएको फेला परेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त निर्णय गरेको हो।

विभागले एक सार्वजनिक सूचना जारी गर्दै नेपाली बजारमा पुगिसकेका उक्त ब्रान्डका सम्पूर्ण बिस्कुटहरू तत्काल बजारबाट फिर्ता गर्न आधिकारिक आयातकर्ता र वितरकहरूलाई निर्देशन दिएको छ। साथै, भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणको कारबाही प्रतिवेदनलाई आधार मान्दै विभागले प्रियागोल्डको पैठारी स्वीकृति समेत स्थगन गरेको छ।

- Advertisement -
Ad image

भारतमा उपभोक्ताको उजुरीपछि प्रियागोल्ड बिस्कुट उत्पादक कम्पनी ‘सूर्या फुड एन्ड एग्रो लिमिटेड’ को कारखानामा गरिएको निरीक्षणका क्रममा बिस्कुटमा रेसा (फाइबर) को स्रोतका रूपमा गाईवस्तुलाई खुवाउने चोकर प्रयोग भइरहेको फेला परेको थियो। उक्त चोकर राखिएका जुटका बोराहरूमा स्पष्ट रूपमा ‘गाईवस्तुको दानाका लागि मात्र’ र ‘मानव उपभोगका लागि नभएको’ भनी उल्लेख गरिएको पाइएको थियो।

उद्योग निरीक्षणका क्रममा कारखानाको सरसफाइ, कीट नियन्त्रण र कच्चा पदार्थको असुरक्षित भण्डारणमा समेत गम्भीर लापबाही पाइएपछि भारतीय नियामक निकायले उद्योगको लाइसेन्स निलम्बन गरिसकेको छ।

यता नेपालमा विभागले बजारमा पठाइएका सबै बिस्कुट फिर्ता ल्याई सुरक्षित भण्डारण गर्न र स्थानीय प्रशासन तथा विभागको रोहबरमा मात्र नष्ट गर्न निर्देशन दिएको छ। यदि कसैले यो निर्देशनको अवज्ञा गरी प्रतिबन्धित बिस्कुटको बिक्री वितरण जारी राखेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कडा कानुनी कारबाही गरिने विभागले चेतावनी दिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्