काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा ५३ मतको झिनो अन्तरले पराजित भएका डा. सुनील शर्माले अहिले पार्टीका नेता तथा कार्यकर्तासँगको सम्बन्धलाई थप बलियो बनाउन जिल्ला दौडाहा सुरु गरेका छन्।
पार्टी नेतृत्वकै असहयोगका बीच पनि उल्लेख्य मत प्राप्त गरेका शर्मा हारलाई शक्तिमा बदल्दै सीधै ‘ग्राउन्ड जिरो’ अर्थात् तल्लो तहका कार्यकर्तामाझ पुग्न थालेका छन्। आफूलाई मतदान गर्ने प्रतिनिधिहरूलाई धन्यवाद दिँदै उनले मकवानपुरको हेटौँडाबाट जिल्ला दौडाहा सुरु गरेका हुन्। कतिपयले उनको यो अभियानलाई आगामी १६औँ महाधिवेशनमा कांग्रेसको नेतृत्व लिने तयारीका रूपमा समेत हेर्न थालेका छन्।
महामन्त्रीमा पराजित भए पनि शर्मा सुस्ताएका छैनन्, बरु थप ऊर्जाका साथ कार्यकर्तामाझ पुग्न थालेका छन्। राजधानीका शक्तिकेन्द्रमा सीमित नभई जिल्लाका नेता तथा कार्यकर्ता र स्थानीय सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट तथा छलफलमा जुटेका उनले पार्टीभित्र नेता तथा कार्यकर्ताबीचको सम्बन्ध बलियो बनाउने प्रयास थालेका छन्।
निर्वाचनपछि कार्यकर्तामाझ पुगेर उनीहरूका कुरा सुन्ने र संगठनका विषयमा छलफल गर्ने उनको सक्रियताले कांग्रेसभित्र नयाँ राजनीतिक चर्चा सुरु गराएको छ।
हेटौँडामा शर्माले जिल्लाका अग्रज नेता, सयौँ कार्यकर्ता तथा स्थानीय अगुवाहरूसँग भेटघाट गर्दै पार्टीको अवस्था, संगठन र आगामी राजनीतिक यात्राका विषयमा छलफल गरेका छन्। पार्टीभित्रको गुटबन्दी अन्त्य गरी नेता तथा कार्यकर्ताबीचको दूरी कम गर्नुपर्ने एजेन्डासहित अघि बढेका शर्माले कार्यकर्तालाई पार्टी नेतृत्वसँग जोड्ने अभियानलाई प्राथमिकता दिएको देखिन्छ।
डा. शर्मा २०५४ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन्। पार्टीको १३औँ महाधिवेशनदेखि महासमिति सदस्यका रूपमा काम गरेका उनी मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
उनी हाल गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापतिसमेत हुन्। राजनीतिसँगै स्वास्थ्य सेवामा सक्रिय शर्मा काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमार्फत विपन्न तथा असहाय बिरामीको उपचार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई चिकित्सा शिक्षामा अवसर उपलब्ध गराउने कार्यमा संलग्न रहँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस्