नेपालमै वार्षिक ५ लाख टन क्षमताको हरित युरिया मल कारखाना खोल्न प्रस्ताव आह्वान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ आश्विन २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – सरकारले नेपालमै व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापनाको प्रक्रिया अघि बढाएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले वार्षिक करिब ५ लाख मेट्रिक टन उत्पादन क्षमता भएको व्यावसायिक हरित युरिया प्लान्ट स्थापनाका लागि विस्तृत अवधारणा तथा कार्यान्वयनको ढाँचा माग गर्दै प्रस्ताव आह्वान गरेको हो।

- Advertisement -
Ad image

मन्त्रालयले विहीबार एक सूचना जारी गर्दै इच्छुक योग्य कम्पनी, संयुक्त लगानी तथा कन्सोर्टियमसँग यस्तो प्रस्ताव मागेको हो। सूचनाअनुसार, निर्माण गरिने उक्त व्यावसायिक प्लान्टको क्षमता भविष्यमा आवश्यकताअनुसार बढाउन सकिने हुनुपर्नेछ।

यस प्लान्टले हरित हाइड्रोजन उत्पादन, नाइट्रोजन उत्पादन, अमोनिया सिन्थेसिस, औद्योगिक कार्बन क्याप्चर र युरिया सिन्थेसिसको समग्र कार्यलाई समेट्नुपर्ने सर्त मन्त्रालयले राखेको छ।

मन्त्रालयका अनुसार, प्राप्त प्रस्तावहरूको मूल्याङ्कनबाट नेपालमा मल कारखाना खोल्नका लागि उपयुक्त प्रविधि, लगानीको ढाँचा, प्राविधिक चुनौती, आर्थिक सम्भाव्यता र आवश्यक पर्ने सरकारी सहुलियतका विषयमा थप स्पष्टता प्राप्त हुनेछ।

इच्छुक कम्पनी तथा लगानीकर्ताले मन्त्रालयको आधिकारिक वेबसाइटबाट अवधारणा तथा कार्यान्वयनको ढाँचा सम्बन्धी कागजात डाउनलोड गर्न सक्नेछन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्