काठमाडौँ – नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज घरेलु टोली ओमानको सामना गर्दै छ। ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुने यो खेल नेपालका लागि निकै महत्वपुर्ण र दबाबपूर्ण रहेको छ।
ओमानले यसअघि क्यानडालाई पराजित गरेसँगै नेपालको लिग-२ को शीर्ष ४ भित्र पर्दै सिधै विश्वकप ग्लोबल छनोटमा पुग्ने गणितीय सम्भावना समाप्त भइसकेकाले नेपालका लागि अबको मुख्य लक्ष्य आफ्नो एकदिवसीय (ODI) मान्यता जोगाउनु मात्र हुनेछ।
बाँकी खेलहरू जित्दै अंक तालिकाको शीर्ष ६ भित्र रहेर ओडीआई मान्यता सुरक्षित राख्ने दबाबमा रहेको नेपाल हाल ३३ खेलबाट २६ अंकसहित छैटौँ स्थानमा छ। नेपालको लगत्तै पछाडि रहेको क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौँ स्थानमा रहेकाले आज ओमानलाई पराजित गर्न सके नेपालले क्यानडासँगको अंक दूरी ३ पुर्याएर आफ्नो स्थान थप बलियो बनाउने अवसर पाउनेछ।
यस शृङ्खलाको पहिलो खेलमा कप्तान रोहित पौडेलको उत्कृष्ट शतकको मद्दतले क्यानडालाई २१ रनले हराएको नेपाल आज पनि सोही लयलाई निरन्तरता दिने दाउमा छ। यद्यपि, २९ खेलबाट ३३ अंक जोडेर चौथो स्थानमा रहेको बलियो घरेलु टोली ओमानलाई उसैको मैदानमा पन्छाउनु नेपालका लागि ठुलो चुनौती हुनेछ।


प्रतिक्रिया दिनुहोस्