काठमाडौं – नाइजेरियामा भएको एक भीषण सैन्य विमान दुर्घटनामा विमानमा सवार सबै ३२ जनाको मृत्यु भएको छ। मिडिया रिपोर्टहरूमा सुरुमा २५ जनाको मृत्यु भएको प्रारम्भिक समाचार सार्वजनिक भए तापनि पछिल्लो विवरण अनुसार विमानमा रहेका २५ जना यात्रु र ७ जना चालक दलका सदस्य गरी कुल ३२ जनाकै ज्यान गएको पुष्टि भएको हो।
नाइजेरियाका राष्ट्रपति बोला टिनुबु र उड्डयन मन्त्री फेस्टस केयामोले यस दुखद् घटनाको पुष्टि गर्दै गहिरो दुःख व्यक्त गरेका छन्।
वायुसेनाको एटीआर-४२ (ATR-42) दुई इन्जिनयुक्त टर्बोप्रप सैन्य विमान दक्षिणी नाइजेरियाको बेनिन सिटीबाट लागोसतर्फ नियमित उडानमा रहेको थियो। उडानकै क्रममा सोमबार बिहान ०८:१३ GMT मा एयर ट्राफिक कन्ट्रोलरहरूसँग विमानको अचानक सम्पर्क विच्छेद भएको थियो।
त्यसको केही समयमै विमान दक्षिणपश्चिम ओन्डो राज्यको नदी किनारमा अवस्थित इग्बोकाडा समुदायको नौसैनिक आधार नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। नाइजेरियाली वायुसेनाले घटनाको यथार्थ कारण पत्ता लगाउन छानबिन प्रक्रिया अगाडि बढाइसकेको छ।


प्रतिक्रिया दिनुहोस्