रास्वपाका १४ वटा केन्द्रीय विभागमा प्रमुखहरू मनोनयन, कुन विभागको जिम्मेवारी कसलाई?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ आश्विन २०८३, शनिबार
2 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना १४ वटा केन्द्रीय विभागमा प्रमुखहरू मनोनयन गरेको छ। शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले १४ वटा विभागमा प्रमुख र एउटा विभागमा उपप्रमुख तथा सदस्यसमेत मनोनयन गरेको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।

पार्टी बैठकको निर्णयअनुसार प्रवास सम्पर्क विभाग प्रमुखको जिम्मेवारी मनिष झालाई दिइएको छ भने आर्थिक व्यवस्थापन विभागको प्रमुखमा मनोहर प्रधान मनोनित भएका छन्। यसैगरी, कानुनी, मामिला तथा संस्थागत अनुपालन विभाग प्रमुखमा मोहनलाल आचार्य र सुशासन तथा राज्य व्यवस्थापन विभाग प्रमुखमा सुदीप ढकाल चयन भएका छन्।

- Advertisement -
Ad image

पार्टीले विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागको प्रमुखमा सुलभ खरेललाई मनोनयन गरेको छ भने सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशीता विभागको जिम्मेवारी रुविना आचार्यले पाएकी छन्। अर्कोतर्फ, सामाजिक, न्याय तथा समता प्रवर्द्धन विभागको प्रमुखमा भने रिमा विश्वकर्मा चयन भएकी छन्।

कृषि तथा उत्पादन क्षेत्रलाई प्राथमिकता दिँदै कृषि, भूमि व्यवस्था तथा सहकारी विभाग प्रमुखमा ज्ञानेन्द्र महता, श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभाग प्रमुखमा दीपकुमार साह र आपूर्ती, बजार सुशासन तथा उपभोक्ता अधिकार विभाग प्रमुखमा शर्मिला खनाललाई मनोनयन गरिएको छ।

यसैगरी, विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागको नेतृत्व आनन्दबहादुर चन्दले पाएका छन् भने वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागको प्रमुखमा धर्म केसी मनोनित भएका छन्। संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागको प्रमुखमा डा. धनञ्जय रेग्मीलाई चयन गर्दै उक्त विभागको सदस्यमा सम्राट बुढाथोकीलाई मनोनयन गरिएको छ।

त्यस्तै, पार्टीको अभियान तथा प्रचार-प्रसार विभागको उपप्रमुखमा डिल्लेश्वर कार्की (रोहन) लाई मनोनयन गरिएको प्रवक्ता खरेलले जानकारी दिए। रास्वपाले पार्टी संगठनलाई थप सुदृढ र विषयगत रूपमा प्रभावकारी बनाउने उद्देश्यले केन्द्रीय विभागहरूलाई पूर्णता दिएको जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्