काठमाडौँ – प्रधानमन्त्री बालेन शाहले मुलुक प्राकृतिक विपद्को गम्भीर संकटमा रहेका बेला दैनिक उपभोग्य सामग्रीको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेहरूमाथि सरकारले कडा निगरानी राखिरहेको बताएका छन्।
आईतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले संकटको घडीमा उपभोक्ता ठग्ने र अनुचित फाइदा उठाउन खोज्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइने स्पष्ट पारेका हुन्।
विपद्को समयलाई मौका छोपी सामान लुकाउने, अस्वाभाविक मूल्यवृद्धि गर्ने वा कृत्रिम अभाव सिर्जना गरी कालोबजारीमा संलग्न हुनेहरूमाथि सरकारले कडा निगरानी राखिरहेको उनले बताए।
यसका साथै संकटको अवस्थामा समाजमा त्रास फैलाउने गरी भ्रामक सूचना सम्प्रेषण गर्ने वा पीडितहरूको गोपनीयता भंग गर्ने कार्य कसैबाट पनि हुन नहुने र त्यस्ता गतिविधि गर्नेहरूलाई समेत कारबाही गरिने उनले चेतावनी दिएका छन्। प्रधानमन्त्री शाहले स्पष्ट शब्दमा भनेका छन्, “विपद्को यस कठिन समयमा पीडितलाई थप पीडा दिने कार्य कसैबाट पनि हुनु हुँदैन।”
हालैको अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न भागमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ। देशभर बाढीपहिरोको जोखिम अझै कायमै रहेको र धेरै राजमार्गहरू अवरुद्ध भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले नागरिकहरूलाई उच्च सतर्कता अपनाउन, अत्यावश्यक बाहेकका लामो दूरीको यात्रा टार्न र पूर्वसावधानीका उपायहरू अवलम्बन गर्न समेत अपिल गरेका छन्।


प्रतिक्रिया दिनुहोस्