चाडपर्वलगत्तै सरकारविरुद्ध बृहत् मोर्चासहित सडक आन्दोलनमा उत्रिने प्रचण्डको चेतावनी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ आश्विन २०८३, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारविरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर दसैँ र तिहारलगत्तै सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले सुकुम्वासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी तथा ट्रेड युनियनमाथि दमन, ज्यादती र अत्याचार सुरु गरेको आरोप लगाएका हुन्। सरकारका यस्ता गतिविधिविरुद्ध व्यापक प्रतिवाद आवश्यक रहेको उल्लेख गर्दै प्रचण्डले संसद्‌भित्रका सबै प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने कार्य भइरहेको र संसद् बाहिर रहेका असन्तुष्ट विभिन्न समूहहरूलाई समेत समेटेर आन्दोलनको तयारी भइरहेको जानकारी दिए।

- Advertisement -
Ad image

आगामी ठूला चाडपर्वको अवधिभर तयारीका कामहरूलाई तीव्रता दिइने र चाडपर्वपछि प्रतिक्रान्तिकारी षड्यन्त्रका विरुद्ध एउटा नयाँ आन्दोलन सृष्टि गरिने उनको भनाइ छ। सरकारका गतिविधि र कार्यशैलीका कारण जनतामा रहेको भ्रम क्रमशः हट्दै गएको जिकिर गर्दै प्रचण्डले स्थापित राजनीतिक दल, नेता र उनीहरूको एजेन्डाप्रति जनताको आकर्षण दिनप्रतिदिन बढ्दै गएको दाबी समेत गरे।

सम्पूर्ण नेता-कार्यकर्ताहरूलाई प्रतिक्रान्तिलाई परास्त गर्दै क्रान्तिलाई नयाँ उचाइमा उठाउन आह्वान गर्दै उनले जनतामाझ पुगेर वास्तविक अवस्था बुझाउन सके आफ्नै नेतृत्वको आन्दोलनमा जनता स्वतः सडकमा आउने विश्वास व्यक्त गरे।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्