काठमाडौं – अघिल्लो दिन भारी सुधार देखिएको धितोपत्र बजारमा बुधबार भने ओरालो यात्रा सुरु भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घट्दै २,६१२.४२ को विन्दुमा झरेर बन्द भएको हो ।
कारोबार सुरु भएदेखि नै बजारमा गिरावटको शृङ्खला देखिएपछि सबै उपसमूहका सूचकहरू ऋणात्मक बनेका छन् । परिसूचकसँगै आज कारोबार रकममा पनि उल्लेखनीय ह्रास आएको छ । मंगलबार ८ अर्ब २९ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज कुल ३५० कम्पनीको १ करोड ५१ लाख कित्ता सेयर खरिद-बिक्री हुँदा ५ अर्ब ३८ करोड ९५ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ ।
आज बजारमा तीव्र बिक्री चाप रहँदा २२५ कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने केवल ४२ कम्पनीको सेयर मूल्यमा मात्र वृद्धि भएको छ । बाँकी १२ कम्पनीको मूल्य भने स्थिर रह्यो । १३ वटै उपसमूह राताम्मे भएको यस दिन जलविद्युत समूह सर्वाधिक १.०४ प्रतिशत र जीवन बीमा समूह १.०१ प्रतिशतले ओरालो लागेका छन् ।
मन्दीका बीच पनि आज हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक ३७ करोड ९५ लाख रुपैयाँ र रिलायन्स स्पिनिङ मिल्सको २५ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभरिको उतारचढावमा नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक ६.३७ प्रतिशत नाफा कमाउँदा एनएमबि हाइब्रिड फन्ड २ का एकाइधनीहरूले सबैभन्दा धेरै ७.७३ प्रतिशत गुमाउन पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस्