काठमाडौँ – सरकारले सङ्घीय संसद्को चालु बजेट अधिवेशन आगामी असोज १६ गतेदेखि अन्त्य गर्ने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकमा आगामी असोज १५ गतेसम्मको सम्भावित संसदीय क्यालेन्डर तय गर्दै त्यसको भोलिपल्ट अधिवेशन अन्त्य गर्ने विषयमा राजनीतिक दलहरूबीच छलफल भएको हो।
सङ्घीय संसद् सचिवालयका अनुसार असोज १५ गतेसम्मका लागि प्रतिनिधि सभाको सम्भावित कार्यसूचीसहितको क्यालेन्डर प्रकाशित भइसकेको छ। उक्त अवधिभित्र बालबालिका सम्बन्धी विधेयक, नागरिक लगानी कोष, भुक्तानी तथा फर्स्यौट र मेलमिलापसम्बन्धी विधेयक तथा विभिन्न अन्तर्राष्ट्रिय सम्झौताहरूमाथि दफावार छलफल गरी सम्बन्धित समितिमा पठाउने कार्यसूची तय गरिएको छ। असोज १६ गते प्रतिनिधि सभाको अन्तिम बैठक राखेर चालु अधिवेशनभर भएका गतिविधि र उपलब्धिहरू सुनाउँदै अधिवेशन टुङ्ग्याउने सरकारको योजना छ।
यसपटकको स्वीकृत कार्यसूचीमा बहुप्रतीक्षित नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक समावेश नगरिएकाले यो विधेयक चालु अधिवेशनबाट अघि नबढ्ने निश्चितप्रायः भएको छ। संवैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन अन्त्य हुने प्रावधान रहेको छ। असोज १५ सम्म निर्धारित सबै कार्यसूचीहरू पूरा भएलगत्तै मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बुझिएको छ।


प्रतिक्रिया दिनुहोस्