काठमाडौँ – त्रिशूली नदीको बाढीले कटान गरेपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्डको नयाँ वैकल्पिक ट्र्याक आगामी असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। भदौ १४ गतेको बाढीले मुख्य सडक बगाएपछि सडक विभागले करिब १५ मिटर माथिबाट नयाँ ट्र्याक खुलाएको हो।
नयाँ ट्र्याकको प्राविधिक अवस्था जाँच्न भदौ २८ गते आईतबार ग्यास बुलेट र ठूला भारी सवारीसाधनसहित करिब २० वटा गाडीहरू गुडाएर सफल परीक्षण समेत गरिएको छ। परीक्षण सफल भए तापनि सडकको ग्रेडिङ मिलाउने, ग्राभेल बिछ्याउने र नाली निर्माण गर्ने कार्य बाँकी रहेकाले अहिले नै नियमित यातायात भने खुला गरिएको छैन।
असोज १ गतेदेखि यो खण्ड पूर्ण रूपमा सुचारु भएपछि काठमाडौँ उपत्यकामा एलपी ग्यास लगायतका अत्यावश्यक सामग्रीको आपूर्ति सहज हुने र दशैँको मुखमा यात्रुहरूलाई आवतजावतमा ठूलो राहत मिल्ने विश्वास गरिएको छ। हाल सडक निर्माणलाई तीव्र पार्न र सुरक्षा सुनिश्चित गर्न ठूला सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।


प्रतिक्रिया दिनुहोस्