काठमाडौँ – पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा सडक भासिएर यातायात अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा एलपी ग्यासको अभाव हुन नदिन वैकल्पिक व्यवस्था गरेको छ। भारतबाट ग्यास बोकेर आएका ठूला बुलेटहरू उपत्यका भित्रिन नसकेपछि उपत्यका बाहिरका विभिन्न प्लान्टहरूमा ग्यास ‘बोटलिङ’ (सिलिन्डरमा भर्ने काम) सुरु गरिएको हो।
सडक अवरोधका कारण बुलेटहरू रोकिएपछि निगमले काठमाडौँका १६ वटा ग्यास उद्योगहरूलाई तराई तथा भित्री मधेसका प्लान्टहरूसँग समन्वय गरी बाहिरै बोटलिङ गर्ने अनुमति दिएको छ। यस व्यवस्था अन्तर्गत साल्ट ट्रेडिङ कर्पोरेसनको एसटिसी (STC) ग्यास वीरगञ्जको मनोज ग्यासमा तथा श्री र श्रीकृष्ण जस्ता अन्य लोकप्रिय ब्रान्डहरू चितवनका विभिन्न प्लान्टमा भरिन थालिएका छन्।
यसरी बाहिरका उद्योगमा भरिएका ग्यास सिलिन्डरहरूलाई ठूला बुलेटको साटो ट्रकहरूमा लोड गरी त्रिभुवन राजपथ (हेटौँडा–भैसे–नौबिसे खण्ड) हुँदै काठमाडौँ भित्र्याउन थालिएको छ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अनुसार भारतबाट ग्यासको आयात नियमित रहेको र पर्याप्त मौज्दात भएकाले बजारमा ग्यासको कुनै अभाव हुने छैन। सङ्घले उपभोक्ताहरूलाई अनावश्यक रूपमा ग्यास होर्डिङ (सञ्चित) नगर्न र आत्तिनु नपर्ने स्पष्ट पारेको छ।


प्रतिक्रिया दिनुहोस्