त्रिशूली–३ ‘ए’ को सुरुङभित्र जीवितै भेटिने आशा, भित्रबाट मानिस बोलेको आवाज आएको सांसद न्यौपानेको दाबी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०८३, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नुवाकोटस्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका श्रमिक तथा प्राविधिकहरूको उद्धार कार्यमा ठूलो र आशालाग्दो संकेत देखिएको छ। सुरुङभित्र खोजी गरिरहेको उद्धार टोलीले भित्रबाट मानिस बोलेको आवाज सुनेपछि त्यहाँ फसेकाहरू जीवितै भेटिने आशा पलाएको हो। घटनास्थलमा प्राविधिक भूमिकामा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संघीय सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेले सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको दाबी गरेका छन्।

सांसद न्यौपानेका अनुसार सुरुङभित्र प्रवेश गरेको नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोलीले भित्र कराउँदै ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनी ढोकाबाट आवाज दिँदा भित्रबाट स्पष्ट रूपमा जवाफ आएको थियो। बाढीको लेदो र भीषण गेग्रानले सुरुङको मुख्य ढोका थुनिएकाले भित्र अक्सिजन र खाद्य सामग्री अभावमा कामदारहरूको अवस्थालाई लिएर चौतर्फी चिन्ता व्यक्त भइरहेका बेला यो आवाज सुनिनुलाई उद्धार अधिकारीहरूले सुखद संकेत मानेका छन्।

- Advertisement -
Ad image

नेपाली सेना, सशस्त्र प्रहरी र चिनियाँ प्राविधिकसहितको टोली क्रेन र हेभी मेसिनरी प्रयोग गरेर सुरुङ खुलाउन निरन्तर खटिएको छ। सुरुङको मुखमा थुप्रिएको फलामे संरचना र ठूला ढुंगाहरू पन्छाएर टोली करिब १५ देखि २० मिटर भित्रसम्म प्रवेश गरिसकेको छ। सुरुङको माथिल्लो ढोका समयमै बन्द भएकाले भित्र लेदो र ढुंगा धेरै नपसेको अनुमान गरिएकाले पनि भित्र रहेका मानिसहरू सुरक्षित स्थानमा आश्रय लिएर बसेको हुनसक्ने प्राविधिकहरूको विश्लेषण छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्