काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएर सवारी आवागमन अवरुद्ध भएपछि काठमाडौँ उपत्यका र छिमेकी जिल्लाका लागि आवश्यक एलपी ग्यास उपत्यका बाहिरका उद्योगहरूमा भरेर ल्याउन थालिएको छ।
ग्यास बोकेका बुलेटहरू कृष्णभीरको बाटो भएर काठमाडौँ प्रवेश गर्न नसकेपछि नेपाल आयल निगमले उपत्यका बाहिरका उद्योगहरूमा ग्यास भर्न अनुमति दिएको हो।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दका अनुसार उपत्यका र छिमेकी जिल्लाका १६ वटा ग्यास उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट-सुस्तापूर्व) का उद्योगहरूसँग समन्वय गरी ग्यास भर्ने व्यवस्था मिलाएका छन्। उपत्यका र आसपासका क्षेत्रमा कुल खपतको ४० प्रतिशतभन्दा बढी ग्यास आवश्यक पर्छ।
बाबा ग्यासका सञ्चालक एवम् सङ्घका सदस्य विमल कालाखेतीका अनुसार कृष्णभीरको बाटो नखुलेसम्म बाहिरका उद्योगमा भरिएका ग्यास सिलिन्डरहरू त्रिभुवन राजपथसहितका वैकल्पिक सडक प्रयोग गरी काठमाडौँ भित्र्याइनेछ।
श्री ग्यासले बाबा, श्रीकृष्णले साइबाबा, श्रीरामले जानकी, नेपाल ग्यासले नेपाल गण्डकी, तथा एभरेष्ट र सुगम ग्यासले साहारा उद्योगमा ग्यास भर्न सुरु गरिसकेका छन्। अन्य उद्योगहरूले पनि बाहिरका उद्योगहरूसँग समन्वय गरिरहेका छन्।
बाहिरका उद्योगहरूमा ग्यास बोटलिङको काम सुरु भइसकेकाले उपत्यकामा ग्यासको अभाव नहुने उद्योगीहरूले आश्वस्त पारेका छन्। उपभोक्ताहरूलाई अनावश्क रूपमा ग्यास जगेडा (होल्ड) नगर्न समेत सङ्घले आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्