काठमाडौं – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ मा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुबासँग गृह मन्त्रालयमा जारी वार्तामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम पनि सहभागी भएकी छन् ।
शनिबार अपराह्न सिमरा विमानस्थलबाट काठमाडौं आइपुगेका गरिमाका बुबा मनोज चौधरी र आमा मानमती चौधरीसँग गृह मन्त्रालयमा उच्चस्तरीय छलफल सुरु भएको थियो । उक्त वार्ता जारी रहँदा कानुनमन्त्री गौतम पनि छलफलमा जोडिएकी हुन् । वार्तामा गृहमन्त्री सुदन गुरुङ, कृषिमन्त्री गीता चौधरी, गृहसचिव र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) समेत उपस्थित छन् ।
पीडित परिवारले गरिमा हत्या प्रकरणमा संलग्न दोषीमाथि हदैसम्मको कानुनी कारबाही, प्रहरी अनुसन्धानको निष्पक्षता र कानुनी प्वालहरू सच्याउन माग राख्दै आएका छन् । आन्दोलनरत परिवारका माग र कानुनी सुधारका विषयमा केन्द्रित भई सरकारले यो छलफल अघि बढाएको हो ।
यसअघि, दोषीलाई मृत्युदण्ड दिनुपर्ने मागसहित स्थानीय बासिन्द र पीडित परिवारले वीरगञ्ज–पथलैया सडक खण्ड अवरुद्ध गरी आन्दोलन चर्काएका थिए । घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै सरकारले पीडितका बुबा-आमा र स्थानीय अभियन्ताहरूलाई छलफलका लागि काठमाडौं बोलाएको हो ।
गृह मन्त्रालयका अनुसार, घटनाको निष्पक्ष र वैज्ञानिक अनुसन्धान गर्न तथा दोषीलाई कडा कारबाही सुनिश्चित गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको छ ।


प्रतिक्रिया दिनुहोस्