देउवाकै सभापतित्वमा १५औं महाधिवेशन गर्ने कांग्रेस इतर समूहको निर्णय, ५ बुँदे प्रस्ताव पारित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ श्रावण २०८३, आईतवार
2 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसको साविक १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ।

सुकेधारामा सम्पन्न इतर समूहको राष्ट्रिय सम्मेलनले पार्टी सभापति शेरबहादुर देउवाकै सभापतित्व र नेतृत्वमा पार्टी एकताबद्ध भई १५औँ महाधिवेशन सम्पन्न हुने दृढ विश्वास व्यक्त गरेको छ।

- Advertisement -
Ad image

महाधिवेशन नभएसम्मका लागि आवश्यक नियमित सांगठनिक क्रियाकलापहरू सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकले नै संयोजन गर्दै जाने व्यवस्था मिलाइएको छ।

सम्मेलनले मुलुकको वर्तमान राजनीतिक र सामाजिक परिस्थितिलाई ध्यानमा राख्दै विभिन्न महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ।

वि.सं. २०३३ सालमा बीपी कोइरालाले राष्ट्रिय संकट समाधानका लागि लिएको मेलमिलाप नीतिको स्मरण गर्दै वर्तमान अप्ठ्यारो स्थितिमा राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि लोकतन्त्रवादी शक्तिहरूसँग निरन्तर संवाद गर्ने निर्णय गरिएको छ।

त्यसैगरी नेपालको सनातन धर्म-संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाउँदै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र व्यक्तिगत धार्मिक स्वतन्त्रताको रक्षा गर्दै हिन्दु, बौद्ध, किरात र प्रकृति पूजक धर्मको संरक्षण गर्ने प्रस्ताव पारित भएको छ।

यसै गरी वर्तमान संविधानमा जनअपेक्षाअनुसार आवश्यक संशोधनका लागि संवैधानिक व्यवस्था अनुसार नै सम्बन्धित सबै पक्षहरूसँग संवाद गरी निकास दिइने जनाइएको छ।

साउन ३० र ३१ गते सम्पन्न राष्ट्रिय सम्मेलनमा प्रस्तुत प्रस्ताव र सुझावहरूलाई परिमार्जनसहित लिखित दस्ताबेजका रूपमा तयार पार्ने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा गठन गरिएको समितिलाई दिइएको छ।

उक्त समितिमा केन्द्रीय सदस्यहरू उमाकान्त चौधरी र सीता राना रहेका छन् भने सहयोगी सदस्यका रूपमा केन्द्रीय सदस्यहरू मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेललाई चयन गरिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्