काठमाडौँ – राजधानीको भृकुटीमण्डपमा जारी नाइमा एक्स्पोले नेपाली अटोमोबाइल बजारमा नयाँ उत्साह थपेको छ। सुस्त रहेको अर्थतन्त्रका बीच पनि मेला सुरु भएको सुरुवाती तीन दिनमै १५ सयभन्दा बढी गाडीहरू बुकिङ भएका छन्। यसले नेपाली उपभोक्तामाझ गाडीको आकर्षण अझै उच्च रहेको पुष्टि गरेको छ।
यस वर्षको एक्स्पोमा विद्युतीय गाडी (EV) को स्पष्ट वर्चस्व देखिएको छ। मेलामा बुकिङ भएका कुल गाडीहरूमध्ये ९० प्रतिशतभन्दा बढी हिस्सा ईभीले ओगटेका छन्।
सवारी साधन खरिदकर्ताहरूले विशेषगरी मध्यम बजेटका गाडीहरूमा बढी चासो देखाएका छन्। मेलामा २० लाखदेखि ५० लाख रुपैयाँ बजेट दायराभित्रका इभी मोडलहरूको खोजी र बुकिङ सबैभन्दा बढी भएको विक्रेता कम्पनीहरूले जनाएका छन्। विशेषगरी बजारमा भर्खरै भित्रिएका नयाँ चिनियाँ ईभी ब्रान्डहरू ग्राहकको मुख्य रोजाइमा परेका छन्।
एक्स्पोमा गाडीको बुकिङ ह्वात्तै बढ्नुमा बैंकहरूको आकर्षक अफर मुख्य कारण बनेको छ। विभिन्न बैंकहरूले ईभी कर्जाका लागि विशेष स्कीम सहित ८ देखि ९ प्रतिशतकै एकल अंकको सस्तो ब्याजदर प्रस्ताव गरेका छन्।
यसका साथै, नजिकिँदो दशैँ र तिहारजस्ता ठूला चाडपर्वलाई लक्षित गरी ग्राहकहरूले गाडी बुक गरिरहेका छन्। गाडी विक्रेता कम्पनीहरूले पनि स्टक सीमित रहेका कारण बुकिङ गर्ने ग्राहकलाई दशैँ अगाडि नै गाडी डेलिभरी दिने तयारी थालेका छन्। सुस्ताएको अटो बजारलाई यो एक्स्पोले ठूलो राहत दिएको व्यवसायीहरूको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्