एस्टन भिल्लालाई हराउँदै पीएसजीले लगातार दोस्रोपटक जित्यो यूईएफए सुपर कपको उपाधि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ श्रावण २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौं – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार दोस्रो वर्ष यूईएफए सुपर कपको उपाधि जित्न सफल भएको छ। अस्ट्रियाको साल्जबर्गस्थित रेड बुल एरेनामा बुधबार राति भएको रोमान्चक फाइनल भिडन्तमा इंग्लिस क्लब एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिग विजेता पीएसजीले उपाधिमाथि आफ्नो कब्जा जमाएको हो।

प्रतिस्पर्धात्मक खेलको २०औँ मिनेटमा ख्विचा क्वारात्स्खेलियाले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, पहिलो हाफको अन्तिम मिनेटमा एस्टन भिल्लाका १७ वर्षीय स्ट्राइकर ब्रायन माड्जोले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। यो गोलसँगै माड्जो सुपर कपको इतिहासमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्। दोस्रो हाफमा आक्रामक खेल पस्किएको पीएसजीका लागि ६१औँ मिनेटमा डिजिरे डुएले निर्णायक गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

- Advertisement -
Ad image

यो जितसँगै रियल मड्रिडले सन् २०१६ र २०१७ मा लगातार उपाधि जितेयता सुपर कप रक्षा गर्ने पीएसजी पहिलो टोली बनेको छ। पीएसजीले गत वर्ष टोटनह्यामलाई हराएर पहिलोपटक यो उपाधि जितेको थियो। प्रशिक्षक लुइस एनरिकेको नेतृत्वमा पीएसजीले यस सिजन जित्न सक्ने सम्भावित ६ उपाधिमध्ये पहिलो उपाधि आफ्नो पोल्टामा पारेर सुखद सुरुवात गरेको छ। यस खेलमा सोमालियाका ओमार अर्टानले मुख्य रेफ्रीको भूमिका निभाएका थिए, जो यो प्रतिष्ठित फाइनल सञ्चालन गर्ने इतिहासकै पहिलो गैर–युरोपेली रेफ्री हुन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्