काठमाडौँ – कोलम्बियामा आएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति गरेको छ। ७.४ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १ सय ११ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस भग्नावशेषमा पुरिएको आशंका गरिएको छ।
कोलम्बियाको भूगर्भीय सेवाका अनुसार स्थानीय समयअनुसार बिहान ७ः३४ बजे भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु चोको प्रान्तमा जमिनको सतहबाट करिब १ सय ३ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पका शक्तिशाली धक्का पश्चिमी कोलम्बियाको सयौँ किलोमिटर क्षेत्रसम्म महसुस गरिएको थियो।
पेरेइराभन्दा करिब १ सय ६० किलोमिटर दक्षिणमा रहेको काली सहरमा पनि ठूलो क्षति भएको छ। अधिकारीहरूका अनुसार त्यहाँ ३२ वटा भवन भत्किएका छन्। काली भूकम्पको केन्द्रबिन्दुबाट करिब २०० किलोमिटर टाढा रहेको छ।
भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत अभियान जारी छ। सुरक्षाकर्मी र उद्धार टोलीले भत्किएका भवनका भग्नावशेषमा फसेका मानिसहरूको खोजी तथा उद्धार गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्