शून्य समयको घोषणा गर्दै म्यानपावर व्यवसायी आन्दोलित: वैदेशिक रोजगारीमा श्रमिक पठाउने कार्य ठप्प

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ श्रावण २०८३, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ – नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नीतिगत सुधारको माग राख्दै देशभर आन्दोलनको घोषणा गरेको छ। सरकारलाई दिएको १५ दिने अल्टिमेटम बिना निष्कर्ष सकिएपछि संघले पत्रकार सम्मेलन गर्दै वर्तमान अवस्थालाई ‘शून्य समय (Zero Time)’ घोषणा गरी श्रमिक विदेश पठाउने सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा स्थगित गरेको हो।

व्यवसायीहरूको यो कदमसँगै वैदेशिक रोजगारीको पर्खाइमा रहेका हजारौँ नेपाली श्रमिकहरूको श्रम स्वीकृति र उडान प्रक्रिया अनिश्चित बनेको छ। संघका अध्यक्ष डिकबहादुर खत्रीले हाल तोकिएको १० हजार रुपैयाँ सेवा शुल्क अव्यावहारिक भएको बताउनुभएको छ। संघले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार श्रमिकको १ महिनाको न्यूनतम तलब बराबरको सेवा शुल्क व्यवसायीले पाउनुपर्ने मुख्य माग अघि सारेको छ।

- Advertisement -
Ad image

यसका साथै, वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले बुझाउँदै आएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (VAT) पूर्ण रूपमा छुट हुनुपर्ने माग समेत व्यवसायीहरूको छ।

नेपालको जनसंख्या र श्रम बजारको आकारलाई ध्यानमा राख्दै हाललाई नयाँ म्यानपावर कम्पनीको इजाजतपत्र वितरण बन्द गर्न संघले सरकारसँग माग गरेको छ। प्रत्येक ५ वर्षमा बजारको मूल्याङ्कन गरेर मात्र नयाँ इजाजत दिनुपर्ने उनीहरूको सुझाव छ।

पछिल्लो समय सिर्जना गरिएको कृत्रिम अभाव र चर्को हवाई भाडादर तत्काल नियन्त्रण गर्न व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। साउदी अरब, यूएई र मलेसिया जस्ता प्रमुख गन्तव्य मुलुकको श्रमिक भर्ना प्रक्रियामा देखिएको एकाधिकार र बिचौलियाको चलखेल कूटनीतिक पहल मार्फत अन्त्य गर्नुपर्ने माग मागपत्रमा उल्लेख छ।

युरोप, जापान (SSW) र दक्षिण कोरिया (E-7 भिसा) को मागपत्र प्रमाणीकरण प्रक्रियालाई सरल र स्वचालित बनाउनुका साथै ५ हजारभन्दा बढी नेपाली श्रमिक भएका मुलुकमा अनिवार्य श्रम सहचारी नियुक्त गर्नुपर्ने अडान व्यवसायीहरूको छ।

व्यवसायीहरूले राज्यको कोषमा राखेको नगद धरौटीको ब्याज व्यवसायीलाई नै उपलब्ध गराउनुपर्ने माग गरेका छन्। साथै, वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना धितो सहुलियतपूर्ण ऋणको व्यवस्था गरी सम्पूर्ण कारोबारलाई नगदरहित (Cashless) बनाउनुपर्ने उनीहरूको भनाइ छ।

विभागले हालै भारतीय विमानस्थल प्रयोग गरेको र हवाई टिकटको विवरण नबुझाएको भन्दै १६३ भन्दा बढी म्यानपावर कम्पनीहरूलाई गरेको जरिवाना र कारबाही तत्काल फिर्ता लिन समेत संघले सरकार समक्ष माग गरेको छ। माग पूरा नभएसम्म आन्दोलन जारी रहने संघले स्पष्ट पारेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्