काठमाडौँ – अमेरिका भ्रमण वा व्यापारिक प्रयोजनका लागि जाने नेपाली नागरिकले अब अनिवार्य रूपमा ३० लाख रुपैयाँभन्दा बढी धरौटी राख्नुपर्ने भएको छ। अमेरिकी सरकारले भिजिटर भिसा (बी–१ र बी–२) मा नेपालसहित ५० देशका नागरिकका लागि धरौटी बुझाउनुपर्ने पुरानो व्यवस्थालाई परिमार्जन गर्दै स्थायी बनाएको हो।
यसअघि परीक्षण परियोजना (पाइलट प्रोजेक्ट) का रूपमा कन्सुलर अधिकारीको तजबिजमा ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी तोक्न सकिने खुकुलो व्यवस्था थियो। तर नयाँ नियम लागू भएसँगै ५ हजार डलरको विकल्प हटाइएको छ। अब आवेदकहरूले अनिवार्य रूपमा कम्तीमा १० हजार डलर (करिब १५ लाख २० हजार रुपैयाँ) वा अधिकतम २० हजार डलर (करिब ३० लाख ४० हजार रुपैयाँ) धरौटी राख्नुपर्नेछ।
नयाँ नियमअनुसार यो धरौटी रकम भिसा अन्तर्वार्ता बस्नुभन्दा अगाडि नै जम्मा गरिसक्नुपर्नेछ। तोकिएको भ्रमण अवधि पूरा गरेर समयमै स्वदेश फर्किएमा वा भिसा अस्वीकृत भएको खण्डमा उक्त धरौटी रकम नियमानुसार फिर्ता पाइने प्रावधान छ। अमेरिका पुगेर तोकिएको समयभन्दा बढी बस्ने (ओभरस्टे) प्रवृत्ति र अवैध आप्रवासनलाई कडाइका साथ रोक्ने उद्देश्यले अमेरिकी प्रशासनले यो कठोर नीति ल्याएको हो।


प्रतिक्रिया दिनुहोस्