काठमाडौँ – सुनसरीको देवानगञ्जमा दुई समुदायबीच उत्पन्न विवाद र साम्प्रदायिक झडपपछि देशका विभिन्न जिल्लामा तनाव बढेकाले प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा आफ्नो पहिलो विशेष सम्बोधन गर्नुभएको छ। प्रधानमन्त्री शाहले मनमा रहेका रिस, आक्रोश र भ्रमहरूलाई त्यागेर सुरक्षित एवं संयमित हुन तथा सदियौँदेखि कायम रहेको आपसी एकता र सामाजिक सद्भाव जोगाउन सबै देशवासीलाई अपिल गरेका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचना, अफवाह र उत्तेजक सामग्रीको पछि नलाग्न नागरिकहरूलाई सचेत गराउंदै समाजमा उत्तेजना फैलाउने खालका प्रचारबाजीले अशान्ति मात्र बढाउने उल्लेख गर्दै केवल आधिकारिक निकायबाट पुष्टि भएका सूचनामा मात्र विश्वास गर्न आह्वान गरे। सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु गम्भीर विषय भएको बताउँदै प्रधानमन्त्रीले घटनाबारे निष्पक्ष अनुसन्धान भइरहेको र दोषीलाई कानुनबमोजिम कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुका साथै सरकारले मृतकका परिवारलाई उचित आर्थिक क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेहरूको सम्पूर्ण उपचार खर्च ब्यहोर्ने निर्णय समेत गरेको छ।
गएको साउन ११ गते सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई पक्षबीच सामान्य विषयलाई लिएर विवाद सुरु भएको थियो। सो विवादले उग्र रूप लिँदा र झडप बढ्दै जाँदा सुरक्षाकर्मीले चलाएको गोलीसहितका कारणले हालसम्म मृत्यु हुनेको संख्या बढेको छ। स्थिति नियन्त्रण बाहिर जान नदिन जिल्ला प्रशासन कार्यालयले सुनसरीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ भने कोशी र मधेश प्रदेशका जनकपुर, लहान लगायतका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
यसैबीच, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव कायम राख्न र सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न ७ बुँदे संयुक्त अपिल जारी गरेको छ। लगत्तै प्रधानमन्त्री शाहको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले साम्प्रदायिक हिंसा नियन्त्रण गर्न सबै सुरक्षा निकाय, प्रादेशिक सरकार र स्थानीय सरकारबीचको समन्वयलाई थप प्रभावकारी बनाउने रणनीति तय गरेको छ। सरकार, प्रमुख राजनीतिक दल र नागरिक समाजले यो संवेदनशील घडीमा समाजमा अशान्ति फैलाउने सामग्री सेयर नगर्न र शान्ति स्थापनाका लागि आ-आफ्नो ठाउँबाट भूमिका खेल्न आम नागरिकहरूमाझ विशेष आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्