युरोपमा आगोको ताण्डव: फ्रान्स र स्पेनमा भीषण डढेलो, २ लाख ८० हजारभन्दा बढी विस्थापित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० श्रावण २०८३, आईतवार
2 Min Read
Aa
काठमाडौँ – दक्षिणी युरोपमा जारी अत्यधिक गर्मी र तीव्र हावाका कारण फ्रान्स र स्पेनमा भीषण डढेलो फैलिएको छ। डढेलो नियन्त्रण बाहिर गएपछि हालसम्म २ लाख ८० हजारभन्दा बढी नागरिकहरू विस्थापित भई सुरक्षित स्थानमा शरण लिन बाध्य भएका छन्।
फ्रान्सको दक्षिण–पश्चिम क्षेत्र तहसनहस

फ्रान्सको दक्षिण–पश्चिम खण्डमा पर्ने जिरोन्ड र ल्यान्ड्स क्षेत्रहरू डढेलोबाट सबैभन्दा बढी प्रताडित बनेका छन्। यी क्षेत्रहरूबाट मात्रै झण्डै २ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। प्रसिद्ध बोर्डो सहर नजिकका चारवटा सहरहरू पूर्ण रूपमा खाली गराइएको छ भने थप ६० हजार जनालाई तत्काल सुरक्षित स्थानमा जान सरकारले कडा आदेश जारी गरेको छ। परिस्थिति थप भयावह बन्दै गएपछि राष्ट्रपति इमानुएल म्याक्रोँले डढेलो नियन्त्रण र नागरिकको उद्धारका लागि सेना परिचालनको आदेश दिएका छन् ।

स्पेनमा राष्ट्रिय आपत्काल घोषणा

- Advertisement -
Ad imageAd image

छिमेकी देश स्पेनको अवस्था पनि उत्तिकै संकटपूर्ण छ। राजधानी म्याड्रिड नजिकै लागेका तीनवटा ठूला डढेलोहरू एकआपसमा गाभिएपछि आगोले विशाल रूप लिएको छ। परिस्थितिलाई ध्यानमा राख्दै स्पेन सरकारले राष्ट्रिय आपत्काल घोषणा गरेको छ।

म्याड्रिड आसपासका क्षेत्रबाट २५ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् भने धुवाँ र वायु प्रदूषणका कारण झन्डै ४० हजार मानिसलाई घरभित्रै बस्न निर्देशन दिइएको छ। म्याड्रिडकी क्षेत्रीय प्रमुख इसाबेल डियाज आयुसोले यसलाई इतिहासकै सबैभन्दा खराब र विनाशकारी आगलागी भनी टिप्पणी गरेकी छिन्।

अन्तर्राष्ट्रिय सहयोगको अपिल

लामो खडेरी र प्रतिकूल मौसमका कारण स्थानीय स्रोत र साधनले मात्र आगो नियन्त्रण गर्न असम्भव भएपछि दुवै देशले युरोपेली सङ्घ (ईयू) सँग आकस्मिक सहयोग मागेका छन्। ईयूले डढेलो निभाउनका लागि विशेष विमान तथा हेलिकोप्टरहरू परिचालन गरी उद्धार कार्यमा सहयोग गरिरहेको छ। डढेलोका कारण ठूलो मात्रामा वनजङ्गल र भौतिक संरचना नष्ट भएको अनुमान गरिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: