इजिप्ट विरुद्व पुनरागमन जित निकाल्दै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गर्दा कोलम्बियालाई पराजित गर्दै स्विट्जरल्यान्ड ७२ वर्षपछि अन्तिम १६ मा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ असार २०८३, बुधबार
4 Min Read
Aa

काठमाडौं – एन्जो फर्नान्डेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि इजिप्ट विरुद्ध शानदार पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै इजिप्टलाई ३-२ ले पराजित गरेको हो ।

नाटकिय खेलमा ७९ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले अन्तिम ११ मिनेटमा तीन गोल फर्काएको हो । खेलको ७९ मिनेटमा कप्तान लियोनल मेसीको पासमा क्रिस्टियन रोमेरो हेडर गोल गरे । त्यसको ५ मिनेपछि मेसीले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा फर्काए । दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जित दिलाए ।

- Advertisement -
Ad image

त्यसअघि खेलको १५औं मिनेटमा इजिप्टका यासर इब्राहिमले हेडरमार्फत गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । ६७औं मिनेटमा हाइसेम हसनको पासमा मोस्तफा जिकोले गोल गर्दै इजिप्टको अग्रता दोब्बर बनाए । तर, अन्तिम समयमा सम्हालिन नसक्दा इजिप्ट पराजित हुन पुग्यो ।

अर्जेन्टिनाले अब सेमिफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डसँग खेल्नेछ । अर्जेन्टिनासँग पराजित भएको इजिप्ट विश्वकपबाट बाहिरियो । इजिप्टले ९२ वर्षमा पहिलो पटक समूह चरण पार गर्दै यस विश्वकपमा नकआउट चरणमा पुगेको थियो । नकआउटमा पनि पहिलो जित समेत हात पारिसकेको छ ।

यो खेलमा पनि गोल गरेसँगै मेसी विश्वकपमा लगातार ९ खेलमा गोल गर्ने खेलाडी बनेका छन् । उनी विश्वकपका सर्वाधिक (३१) खेल खेल्ने, सर्वाधिक (२१) गोल गर्ने र सर्वाधिक ६ पटक विश्वकप खेल्ने कीर्तिमान मेसीको नाममा छ । मेसी विश्वकपको इतिहासमा लगातार ६ वटा नकआउट चरणका खेलहरूमा गोल गर्ने पहिलो खेलाडी बने। यस्तै मेसीले विश्वकपमा सर्वाधिक असिस्ट (९) गर्ने कीर्तिमान बनाएका छन् ।

जारी विश्वकपमा ८ गोल गर्दै मेसी सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा छन् । मेसी एकै विश्वकपमा दुई पेनाल्टी मिस गर्ने खेलाडी पनि बनेका छन् । समूह चरणको खेलमा अष्ट्रियाविरुद्ध पेनाल्टी मिस गरेको मेसीले राउन्ड अफ १६ को इजिप्टविरुद्ध पनि पेनाल्टीमा गोल गर्न सकेनन् ।

आजै भएको अर्को खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्विट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भएको राउन्ड अफ १६ को अन्तिम खेलको पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४-३ ले हराउँदै स्विट्जरल्यान्ड ७२ वर्षपछि क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा कोलम्बियाका दुई खेलाडीले पेनाल्टी मिस गर्दा स्विट्जरल्यान्डले क्वार्टरफाइलनमा पुग्ने अवसर पायो ।

पेनाल्टीमा कोलम्बियाका जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गरे । डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजले पेनाल्टीमा गोल गर्न असफल भए । स्विट्जरल्यान्डका ४ खेलाडीले गोल गर्दा एकजनाले गोल गर्न सकेनन् । ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले गोल गर्दा म्यानुअल अकांजीले गोल गर्न सकेनन् ।

सन १९५४ को विश्वकपमा क्वार्टरफाइनलमा पुगेको स्विट्जरल्यान्ड त्यसयता समूह चरण र अन्तिम १६ बाटै बाहिरिदै आएको थियो । १३औं पटक विश्वकप खेलिरहेको स्विट्जरल्यान्डले चौथोपटक क्वार्टरफाइनलको यात्रा तय गरेको हो ।

अब स्विट्जरल्यान्डले सेमिफाइनल प्रवेशका लागि साविक विजेता अर्जेन्टिनासँग खेल्नेछ । हारसँगै कोलम्बिया विश्वकपबाट बाहिरिएको छ । स्विट्जरल्यान्डलाई हराएर दोस्रोपटक क्वार्टरफाइनलमा पुग्ने कोलम्बियाको सपना पूरा हुन सकेन ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्