काठमाडौँ – क्रिष्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगललाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डलास स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पोर्चुगललाई १–० ले पारजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
स्पेनको जितमा मिकेल मेरिनोले गरेको गोल नै निर्णायक बन्यो । मेरिनोले दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा फेरान टोरेसको पासमा गोल गरेको थिए । जुन स्पेनको जितका लागि पर्याप्त भयो ।
खेलमा बल पोजिसनदेखि सर्ट प्रहारसम्म स्पेन पोचुर्गलभन्दा अघि रह्यो । यो हारसँगै पोर्चुगल अन्तिम १६ बाट बाहिरिएको छ । यसअघि सन् २०२२ को विश्वकपमा पोर्चुगल क्वार्टरफाइनलसम्म पुगेको थियो ।
स्पेन १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सन् २०१० मा विश्व च्याम्पियन बनेको स्पेन त्यसयता क्वार्टरफाइनलमा पुग्न सकेको थिएन ।
सन् २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको स्पेन २०१८ र २०२२ को विश्वकपमा अन्तिम १६ मा रोकिएको थियो । यसअघि राउन्ड अफ ३२ को खेलमा क्रोएसियालाई पराजित गर्दै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको थियो ।
अब स्पेनले सेमिफाइनल प्रवेशका लागि अहिले जारी अमेरिका र बेल्जियमबिचको खेलको बिजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्