कतार र स्विट्जरल्याण्ड एक एकको बराबरीमा रोकिए, ब्राजिल र मोरक्कोको भिडन्त जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ जेष्ठ २०८३, आईतवार
2 Min Read
Aa

काठमाडौं – कतार र स्विट्जरल्याण्डबीचको रोमाञ्चक खेल बराबरीमा टुंगिएको छ । अन्तिम क्षणमा कतारले गोल फर्काउँदा खेल बरारबरीमा टुंगिएको हो ।

खेलको १६ औँ मिनेटमा कतारका गोलकिपर मोहम्मुद अबुनादाले बल लिएर अघि बढिरहेका डेनिस जकारियालाई अवरोध गर्न खोजे । त्यसपछि रेफ्रीले फाउल दिँदै स्वीट्जरल्याण्डलाई पेनाल्टी प्रहारको स्वीकृति दिए ।

- Advertisement -
Ad image

उक्त फाउलपछि रेफ्रीले स्विट्जरल्याण्डलाई पेनाल्टी प्रहारको मौका दिएका थिए । उक्त मौकामा स्विट्जरल्याण्डका ब्रिल एम्बोलोले प्रहार गरेको बललाई कतारी गोलकिपर अबुनादाले रोक्न सकेनन् । त्यसपछिका खेलमा स्विट्जरल्याण्डले पटक पटक गरेको गोलको प्रयासलाई भने उनले विफल बनाएका थिए ।

खेलमा स्विट्जरल्याण्डले १० कर्नरको मौका पनि पाएको थियो । खेलको अन्तिम घडिमा कतारका बोलिएम खौकीले गोल फर्काएपछि खेल बराबरीमा टुंगिन पुगेको हो ।

स्विट्जरल्यान्ड चार वर्षअघि अन्तिम १६ सम्म पुगेको थियो, जहाँ पोर्चुगलसँग ६–१ ले पराजित भएको थियो । उक्त खेलमा गोन्कालो रामोसले बेन्चमा रहेका स्टार क्रिस्टियानो रोनाल्डोको स्थानमा खेल्दै ह्याट्रिक गरेका थिए। त्यस हारपछि स्विस मिडफिल्डर जेर्डान शाकिरीले समर्थकसँग माफी मागेका थिए ।

प्रशिक्षक मुराट याकिनको नेतृत्वमा रहेको स्विट्जरल्यान्डले छनोट चरणमा स्विडेन, कोसोभो र स्लोभेनियाविरुद्ध अपराजित रहँदै चार जित र दुई बराबरी निकालेको थियो ।

यससँगै टोली लगातार छैटौँ विश्वकपमा पुगेको हो। स्विट्जरल्यान्ड सन् २००२ यता कुनै पनि विश्वकपबाट अनुपस्थित भएको छैन। तर टोलीले अहिलेसम्म क्वाटरफाइनलभन्दा माथिको यात्रा तय गर्न सकेको छैन ।

स्पेनी प्रशिक्षक जुलेन लोपेटेगुईको नेतृत्वमा रहेको कतारले भने नोभेम्बरमा भएको प्लेअफमार्फत विश्वकपमा स्थान बनाएको थियो। उसले संयुक्त अरब इमिरेट्स र ओमानलाई हराउँदै मुख्य प्रतियोगितामा प्रवेश गरेको थियो ।

चार वर्षअघि घरेलु भूमिमा आयोजित विश्वकपमा कतार समूह चरणका सबै खेल हार्ने पहिलो आयोजक राष्ट्र बनेको थियो । सन् २०२२ को प्रतियोगितामा उसले सेनेगल, इक्वेडर र नेदरल्यान्ड्ससँग पराजय बेहोरेको थियो। त्यस प्रतियोगितामा कतारले गरेको एकमात्र गोल सेनेगलविरुद्धको ३–१ को हारमा आएको थियो । फिफा विश्वकप अन्तर्गत ब्राजिल र मोरक्कोको खेल जारी छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्