काठमाडौं – काठमाडौंमा जारी काभा महिला भलिबलमा नेपालको यात्रा टुंगिएको छ । काठमाडौंमा जारी प्रतियोगितामा नेपाल इरानसँग आज सोझो सेटमा पराजित भएसँगै फाइनलमा सपना तुहिएको छ ।
राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको दोस्रो सेमिफाइनलमा इरानले घरेलु टोली नेपाललाई २५–२०, २५–१५ र २५–११ ले सहजै पराजित गरेको हो।
पहिलो सेटको सुरुवातमा नेपालले ईरानमाथि केही दबाब बनाएको थियो। तर दोस्रो सेटमा केही कमजोर देखिएको नेपाली टोली तेस्रो सेटमा इरानसामु निरिह बन्यो।
नेपालले अब तेस्रो स्थानका लागि भारतसँग खेल्नेछ। नेपाल सेमिफाइनलबाटै बाहिरिएपछि उपाधिका लागि समूह चरणकै टोली फेरि एकआपसमा भिड्ने भएका हुन्। समूह चरणमा भएको भेटमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो।
आजै भएको पहिलो सेमिफाइनलमा भारतलाई ३–० को सोझो सेटमा हराउँदै काजकस्तान फाइनलमा पुगेको छ। काजकस्तानले भारतलाई २५–२१, २५–१७ र २५–१४ ले सहजै पाखा लगायो।
समूह चरणमा इरानले काजकस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो। उपाधिका लागि फेरि इरान र काजकिस्तान भिड्ने भएका छन् ।


प्रतिक्रिया दिनुहोस्