थप अध्यादेश ल्याउँदै सरकार ! संस्थान कर्मचारी सँगठन खारेज, ५ सयकाे जागिर चैट !!

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ बैशाख २०८३, मंगलवार
2 Min Read
Aa

काठमाडौं – निजामती कर्मचारीबाट राजनीतिक दलमा आवद्ध कर्मचारी संगठन खारेज गरेको सरकारले संस्थानहरुमा पनि सोही नियम लगाउने भएको छ ।

यस अघिको अध्यादेशले निजामती कर्मचारी मात्रैलाई सम्बोधन गरेपछि सरकारले थप अध्यादेश ल्याएर सरकारका विभिन्न संस्थानहरुका युनियनहरु पनि खारेज गर्न लागेको हो । यसका लागि नयाँ अध्यादेश मंगलबार राष्ट्रपति कार्यालयमा पठाउने तयारी भइरहेको सरकारी श्रोतले जानकारी दियो ।

- Advertisement -
Ad image

यसैबीच राजनीतिक नियुक्ति लिएका एक हजार ५९४ जनालाई पदमुक्त गरेको सरकारले सार्वजनिक संस्थानसहितका निकायमा हाल बहाल रहेका थप पाँच सय राजनीतिक नियुक्ति पनि चाँडै खारेज गर्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक उच्च अधिकारीका अनुसार अध्यादेशबाट पदमुक्त हुन जोगिएका राजनीतिक नियुक्तिलाई पनि चाँडै हटाउने योजना अघि बढिसकेको छ। ‘पहिलो चरणमा विभिन्न ऐनअनुसार नियुक्ति लिएकालाई अध्यादेश ल्याएर हटाइएको हो,’ उच्च स्रोतले भन्यो, ‘अधिकांश सार्वजनिक संस्थानमा भने सम्बन्धित मन्त्रालयले कार्यविधि र सम्बन्धित संस्थानको कर्मचारी प्रशासन विनियमावलीअनुसार सञ्चालक समिति अध्यक्ष, कार्यकारी प्रमुख र सञ्चालक समिति सदस्य नियुक्त भएको अवस्था छ। उनीहरूलाई चाँडै दोस्रो चरणमा हटाइनेछ।’

अध्यादेशमार्फत पदमुक्त हुन छुट्नेमा सरकारमातहतका बैंक र बिमा संस्थान, कृषि सामग्री कम्पनी, वन निगम, टेलिकम, जलविद्युत् लगानी तथा विकास कम्पनी, दुग्ध विकास संस्थानलगायतका कार्यकारी प्रमुखसहितका पदाधिकारी छन्। त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमातहतका आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, हेटौँडा र उदयपुर सिमेन्ट उद्योग, पारवहन तथा गोदाम व्यवस्था कम्पनी, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रलगायतका १४ संस्थानका अध्यक्ष, कार्यकारी प्रमुख र सदस्य पनि पदमुक्त हुनबाट जोगिएका छन्।

प्रधानमन्त्री कार्यालयका अनुसार संस्थानको पदाधिकारीको हकमा सम्बन्धित मन्त्रालयको कार्यविधि वा सम्बन्धित संस्थानको कर्मचारी प्रशासन विनियमावली संशोधन गरेर पदमुक्त गरिनेछ।

करिब १५ सय राजनीतिक नियुक्ति खारेज भइसकेकाले अब बाँकी रहेकाहरूबाट स्वेच्छाले राजीनामा घोषणा हुने सरकारको अपेक्षा छ। तर, राजीनामा नदिनेहरूलाई भने पदमुक्त गर्न तत्कालै कदम चालिने ती अधिकारीले बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्