वीरगञ्जमा भोलि बिहानसम्म ‘कर्फ्यू’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ पुष २०८२, सोमबार
2 Min Read
Aa

काठमाडौं – जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा आज (सोमबार) बेलुका ६ः०० बजेदेखि भोलि बिहान ८ः०० बजेसम्म कायम रहने गरी कर्फ्यू आदेश जारी गरेको छ।

आज दिउँसो १ः०० बजेदेखि जारी गरेको निषेधाज्ञामा पनि विरोध प्रदर्शन जारी भएपछि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बेलुकीको ६ः०० बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी गरेका हुन्।

- Advertisement -
Ad image

उनले दुई समुदायबीच हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गरेर शान्ति सुरक्षा कायम राख्न कर्फ्यू आदेश जारी गरिएको बताए। “स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकी सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यूआदेश जारी गरिएको छ”, उनले भने।

स्थानीय प्रशासनले पूर्वमा बसपार्क, पश्चिममा सिर्सियापुल, उत्तरमा पावरहाउसचोक र दक्षिणमा शङ्कराचार्यगेट क्षेत्रमा कुनै पनि प्रकारको सभा, सम्मेलन, जुलुस तथा धर्ना गर्न नपाइने जनाएको छ।

प्रजिअ दाहालले कर्फ्यूको बेलामा सुरक्षाकर्मीले देख्ने बित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यकबाहेक घर बाहिर ननिस्किन र निस्कनु पर्दा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरेर मात्र निस्कनको लागि अनुरोध गरे। कर्फ्यू आदेश अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन भने चल्न पाउने प्रशासनले जनाएको छ।

प्रशासनले आज दिउँसो १ः०० बजेदेखि दिउँसो १ः०० बजेदेखि अर्को आदेश नभएसम्म वीरगञ्जमहानगर क्षेत्रमा चार किल्ला तोकेर कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्