आज मिति वि. सं. २०८२ पुष ११ गते शुक्रबार ई. सं. २०२५ डिसेम्बर २६ नेपाल सम्बत ११४६ पोहेलाथ्व षष्ठी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पुष कृष्ण सप्तमी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, सिद्धि योग, तैतिल करण । आज बिहान ६ बजेर ५३ मिनेटमा झुल्किएको घाम साँझ ५ बजेर १६ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कठोर मिहिनेतले जस्तोसुकै काम बन्ने समय छ । अरुको मन जित्न सजिलै सकिने छ भने धन आर्जनको अवसर मिल्ने देखिन्छ । आम्दानी बढ्ने तथा उठ्नुपर्ने रकम हातलागी हुने योग छ । कृषि तथा पशुधनबाट पनि लाभ नै होला । तर नियमित कार्यमा रुचि घट्नेछ र मनमा खराब विचारहरुले डेरा जमाउन सक्छन् । आफन्तजनको साथले पारिवारिक समस्याको समाधान मिल्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): असल उद्देश्यका लागि काम गर्ने वातावरण सिर्जना हुने दिन छ । बोली–व्यवहारको कदर हुनुका साथै तपाईंका कामको अरुबाट उच्च मूल्याङ्कन हुने देखिन्छ । कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । दीनदुःखीलाई दिएको सहयोगका कारण रोकिएको काम बन्ने योग छ । आम्दानी हुने क्षेत्रमा धन लगानी गर्ने अवसर जुर्ने सम्भावना छ । यात्रामा सफलता र मिठो भोजन प्राप्त हुनेछ । व्यवहार निर्वाहमा अनुकूलता वृद्धि हुनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): कर्मबल वृद्धिका साथै मित्रजनको सहयोग प्राप्त हुने समय छ । मनोकुलताले सुख बढाउला । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाबीच मिलन हुने योग छ । उद्योग र व्यापारमा विशेष फाइदा हुने देखिन्छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । पुरस्कार र प्रशंसा जस्ता कुरामा वृद्धि हुनेछ भने रोकिएका कामहरु बन्नेछन् । सन्तान पक्षबाट सुख मिल्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना रहेकोले सजगतापूर्वक आफ्नै बलबुतामा कार्य गर्नु उचित हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोली र व्यवहारलाई नियन्त्रणमा राख्नुहोला । व्यापारमा पनि नोक्सानीको योग छ, थप लगानी हालका लागि स्थगन गर्नु हितकर हुनेछ । कर्मचारी वर्गले अपजस ब्यहोर्नुपर्ने सम्भावना प्रवल छ । यात्रागत कार्यबाट कष्टमात्र हुनसक्छ, यात्रा नगरेकै बेश होला । बौद्धिक काममा आंशिक सफलता मिल्नेछ । आफन्तजनको साथ प्राप्त होला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको समय केही चुनौतीयुक्त रहला । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । पारिवारिक समस्याले मन खिन्न हुनेछ भने माता–पिताको स्वास्थ्यमा केही कमजोरी आउने देखिन्छ । सभा–सम्मेलनमा सहभागी हुने अवसर मिल्ला । तर अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । चोटपटकको योग पनि छ, सजगता अपनाउनुहोला । बौद्धिकता तथा रचनात्मकता वृद्धिका कारण शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुने समय छ । नसोचेका कामहरु बन्न सक्छन् । पठनपाठनमा प्रगति होला । मिष्ठान्न भोजन प्राप्त हुनेछ । विपरीतलिङ्गीबाट विशेष सहयोग मिल्ने देखिन्छ । धन आर्जनको मौका जुर्ने योग छ । नियमित कार्यमा राम्रै सफलता मिल्नेछ । आजको दिन खर्च भने केही वृद्धि हुन सक्छ । आरोग्यबल बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ । पारिवारिक सुखशान्ति रहनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने समय छ । व्यवसायबाट राम्रै फाइदा उठाउने मौका जुर्ला । व्यावसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइने योग छ । प्रतिस्पर्धीहरूले हार खानेछन् । नयाँ ज्ञान सिक्ने मौका जुर्ला । आरोग्यबलका साथै यश–वर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण रहनेछ । समग्रमा समय मनोरञ्जनपूर्ण रहनेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सानातिना काम र घरेलु समस्यामा केन्द्रित रहनुपर्ने समय छ । महत्वपूर्ण काममा बाधा–अडचन आउन सक्छ । वादविवादमा फस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने सम्भावना छ, ख्याल राख्नुहोला । बौद्धिक तथा सृजनात्मक कार्यमा भने सफलता मिल्नेछ । स्वास्थ्य केही कमजोर रहनसक्छ, खानपानमा सजग रहनुहोला । रोकिएको काम कठोर मिहिनेतले बन्नेछ । यात्रागत कार्य सार्थक रहनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा मन जाला । पारिवारिक सुख मिल्नुका साथै दाम्पत्य जीवनमा सुखदानुभूति हुने देखिन्छ । आम्दानी बढ्नेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । साथीसंगीको सहयोग प्राप्त हुनेछ । मान महत्व वृद्धि र कार्यगति बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): प्रतिभाको कदर भइ सामाजिक प्रतिष्ठा आर्जन हुने दिन छ । काममा मातापिताको सहयोग प्राप्त होला । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्ने देखिन्छ । नियमित व्यवसाय तथा व्यापारमा लाभ हुनेछ । धर्मकर्ममा रुचि बढ्नेछ भने खेलकुद तथा कलाकारिता क्षेत्रमा भएकाहरुको लागि समय उत्साहप्रद देखिन्छ । मिठो भोजन प्राप्त होला । आयबल बढ्नेछ भने सुख–सुविधाका बस्तु प्राप्त हुने योग छ । गीतसंगीत र रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कर्मबल वृद्धि र धर्मकर्ममा आकर्षण बढ्ने समय छ । सुख सुविधाको वस्तुसँगै सुख–विलास पनि बढ्नेछ । आफन्तको साथ मिल्नेछ भने लेखन–प्रकाशनसित सम्बन्धित काममा सफलता प्राप्त होला । सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । रमाइलो यात्राको योग छ । तथापि, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । समाजमा कुरा काट्नेहरू सक्रिय रहन सक्छन् ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दिन खासै उत्साहजनक नरहला । आलस्य र थकानको अनुभव हुनुका साथै मानसिक तनावको अवस्था सिर्जना हुनसक्छ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न रहला । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्ने योग छ । पारिवारिक खर्च क मगर्न अतिरिक्त प्रयास गर्नुपर्नेछ । विश्वास गरेकाबाट धोका हुन सक्छ, सजग रहनुहोला । नियमकानूनले साथ दिनाले भएको दायित्वलाई पूरा गर्नुहुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्