पोखरा एभेन्जर्स विरुद्व विराटनगर किंग्सको शानदार जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ मंसिर २०८२, मंगलवार
2 Min Read
Aa

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको दिनको दोस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले एनपीएल इतिहासकै उच्च २ सय २१ रनको लक्ष्य पोखरासमक्ष दिएको थियो। उक्त लक्ष्य पछ्याएको पोखरा १८.५ ओभरमा १ सय ६७ रनमा समेटियो।

- Advertisement -
Ad image

पोखराले राम्रो सुरुवात गरे पनि मध्य क्रम र पछिल्लो क्रम लगातार विकेट पतन हुँदा ७ बल अगाडि नै अलआउट हुन पुग्यो। पोखराका लागि कुशल भुर्तेलको ५९ रन सर्वाधिक रह्यो। उनले ३१ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरेका थिए।

त्यस्तै, एडम रोसिङ्गटनले २१ बलमा ३९ रन बनाएका थिए। उनले भुर्तेलसँग दोस्रो विकेटका लागि ७६ रनको विष्फोटक साझेदारी गर्दै पेभिलियन फर्किए।

तर, रोसिङ्गटन आउट भएपछि क्रिजमा आएका जिम्मी निसम र त्रित राज दास तथा किरण ठगुन्नाको विकेट गुमाउन पुग्दा टोली दबाबमा परेको थियो। उसका लागि थप दोहोरो स्कोरका रुपमा अभिषेक तावरीको ११ र डन डथह्वाइटको २९ रन रहेको थियो।

पोखरालाई अलआउट गर्ने क्रममा सन्दीप लामिछाने, शुभम् रञ्जन, प्रतिश जिसी र मर्चेन्ट डि लङले २-२ विकेट लिए। त्यस्तै, बसिर अहमद र सूर्य तामाङको नाममा १-१ विकेट रहेको छ। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २० रन बनाएको थियो।

विराटनगरका लागि ओपनर लोकेश बमले ४८ बलमा १ चौका र ७ छक्काको सहयोगमा ७२ रन बनाउँदा मार्टिन गुप्टिलले ३५ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ६१ रनको विष्फोटक इनिङ्स खेलेका थिए। यी दुईबीच दोस्रो विकेटका लागि १ सय ३२ रनको साझेदारी भएको थियो।

त्यस्तै, शुभम् रञ्जनले ३८ रन बनाउँदा बसिर अहमदले २३ रन बनाए। त्यस्तै, नारायन जोशी ११ रनमा नटआउट रहे। पोखराका लागि म्याट टेलरले २ विकेट लिँदा सागर ढकाल, आकाश चन्द र कुशल भुर्तेलले १-१ विकेट लिएका थिए।

यसअघि भएको खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको थियो। कर्णाली दिएको १६७ रनको लक्ष्य चितवनले ६ विकेट गुमाएर १९.१ ओभरमा पूरा गरेको थियो।

एनपीएलको चौथो खेलमा बुधबार काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्नेछन्। यो खेल अपराह्न ४ बजे हुनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्