आज मिति वि सं २०८२ जेष्ठ २१ गते बुधबार ईसं २०२५ जुन ०४ नेपाल सम्बत ११४५ तछलाथ्व नवमी नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल अष्टमी , चन्द्रमा सिंह राशिमा, उत्तर फाल्गुनी नक्षत्र, वज्र योग, बालव करण । आज बिहान ०५ बजेर ०७ मिनेटमा झुल्किएको घाम सूर्यास्त साँझ ०६ बजेर ५६ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): शुभता बढ्नेछ । व्यापार-व्यवसायमा लाभ होला । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर पनि जुर्नसक्छ । मान र विद्या प्राप्त हुने योग छ । विशेष उपहार प्राप्त हुनुका साथै राम्रै धनलाभ हुनेछ । तथापि, आर्जित धन तत्काल खर्च गर्नुपर्ला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । यात्रागत कार्य सार्थक रहनेछ । रोकिएको काम पुनः अघि बढ्न सक्छ । आमोदप्रमोदको अवस्था रहला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): न्यून उपलब्धिका लागिपनि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहन सक्छ । नचिताएको ठाउँमा धननाश हुने सम्भावना छ, ध्यान राख्नुहोला । उद्योग तथा व्यापारमा सामान्यमात्र फाइदा मिल्ने देखिन्छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने योग छ । बौद्धिक तथा रचनात्मक काममा भने आंशिक सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): नयाँ काममा हात हाल्ने समय आएको छ । आँट–पराक्रम बढ्नेछ । काममा पूर्ण सफलता प्राप्तिका लागि केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौतीसमेत सामना गर्नपर्ला, तर मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । बौद्धिकता तथा रचनात्मकता बढ्नेछ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुने योग छ । अल्छी गर्ने बानीले समस्या निम्त्याए पनि समस्याको समाधान प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): लगनशीलताले राम्रै उपलब्धि दिलाउने दिन छ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिएला । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । तथापि, अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ, ख्याल राख्नुहोला । आरोग्यबल बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन पारिवारिक सुखशान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्ने देखिन्छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । सेवामूलक कामबाट धनलाभ हुने योग छ । पढाइलेखाइमा सामान्य प्रगति होला । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । व्यापारमा नसोचेको फाइदा उठ्ने देखिन्छ । रसरागको भाव वृद्धि होला । इष्टमित्रको साथ मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्ने समय छ । व्यवसायमा लाभ बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी वृद्धि होला । इर्ष्या गर्नेहरूले भने सताउन सक्छन्, सावधान रहनुहोला । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । अप्रिय समाचारले निराश तुल्याउनसक्ने योग छ । कर्मबल वृद्धि हुनेछ । समस्यामा आफन्तको साथ प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सकिने समय छ । भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिएला । आयआर्जन राम्रै हुने देखिन्छ, तर विभिन्न अवसर प्राप्तिका बाबजुद अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, सजग रहनुहोस् । स्वास्थ्य केही कमजोर रहन सक्छ, ध्यान राख्नुहोला ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): भाग्यबल बढ्नेछ । प्रतिष्ठित काम गरेर स्याबासी प्राप्त गर्न सकिने समय छ । धेरैलाई लाभ हुने कार्य गर्ने मौका जुर्ला । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ भने प्रतिभाको कदर हुने योग छ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका जुर्ला । भूमि तथा कृषिबाट पनि फाइदा हुनेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । आरोग्यबल बढ्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु गर्न सकिने समय छ । तर, अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइएला । मान्यजनसँग असमझदारी बढ्नसक्ने योग छ । आकर्षण रहला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । खेलकुद, भ्रमण, गीतसंगीत र रसरागात्मक काममा आकर्षण बरहनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): नियमित कार्यमा ब्यस्तता बढ्ने देखिन्छ । केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ, ख्याल राख्नुहोला । आजको दिन अरूको सुझावमा भर नपर्नु उचित होला । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ । पढाइलेखाइमा प्रगति हुनेछ भने आयआर्जन बढ्ने तथा उठ्नुपर्ने रकम हातलागी हुने योग छ । नियमकानूनले साथ दिनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मानसम्मान पनि पाइनेछ । तथापि, अनुकुल परिस्थितिका बाबजुद आफूलाई कमजोर भएको अनुभूति हुनसक्छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिएर काम गर्ने प्रयत्न गर्नु हितकर हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): प्रयत्न गर्दा घरेलु कामबाट पनि लाभ मिल्ने समय छ । रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नु उचित होला । कामबाट फुर्सदिलो भइनेछ भने कतै अतिथिका रूपमा सत्कारसमेत पाइने सम्भावना छ । मित्रजनप्रति प्रेमभाव वृद्धि हुनेछ तर आजको दिन दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ, ध्यान राख्नुहोला । यात्रागत कार्यमा खर्च वृद्धि हुन सक्छ । आरोग्यबल बढ्नेछ । सुख विलास प्राप्तिको योग छ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्