असोज ०५ गते शनिबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ आश्विन २०८१, शनिबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८१ असोज ०५ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर २१ नेपाल सम्बत ११४४ ञंलागा चतुर्थी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, असोज कृष्ण चतुर्थी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, व्याघात योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५:५१ बजे भयो भने सूर्यास्त साँझ ०६:०१ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू सुचारु भएर जानेछ भने उद्योग तथा व्यापारमा विशेष फाइदाको योग छ । शैक्षिक उन्नतिका अवसरहरू मिल्नेछन् । विवाहितजनको दाम्पत्य जीवन सुखमय रहला । सवल स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनु उचित हुनेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । अनुकूलता वृद्धि हुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): विगतको श्रमबाट राम्रै धनलाभ हुने समय छ । उद्योग-व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु तथा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । कर्मको उचित प्रतिफल पाइनेमा शङ्का रहन्न । आज चरित्रसम्वन्धी आरोप आउन सक्ने योग भएकोले विपरीतलिङ्गीहरुबाट टाढा रहनु हितकर हुनेछ । यात्रागत कार्यमा सफलता र पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): दिन खासै उत्साहजनक नरहला । माता, पिता र सन्तानपक्षसँग मतभेद बढ्नसक्छ । अध्ययन तथा अध्यापन कार्यमा पनि अवरोध आउने योग छ । आजको कुनै निर्णय खराब हुनसक्छ, निर्णय गर्दा अलिक ध्यान दिनु उचित हुनेछ । लेनदेनमा विवाद हुन सक्ने हुँदा सकभर कारोबार नगरेकै राम्रो । विगतको श्रमबाट भने लाभ हुने देखिन्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सहयोगीहरूले राम्रो साथ दिने र रोकिएका काम बन्ने तथा नयाँ काम सुरु गर्ने समय छ । राम्रै फाइदाको योग देखिन्छ । तर, नगद सहयोग एवम् लेनदेनको कार्य आज नगर्नु उचित हुनेछ । बलभन्दा बुद्धिको काममा जोड दिनुहोला । खर्चका बाध्यता आइपर्ने छन्, ध्यान राख्नुहोला । उपहार प्राप्ति हुने दिन छ । दोडधुप र जोखिम भने केही बढ्ला । रसरागमा आकर्षण रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन विश्वासीजनबाटै विश्वासघात हुनसक्ने भएकोले गोपनीयतामा एकदमै सावधान रहनुहोला । धार्मिक कार्यमा मन नजाने देखिन्छ । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने कार्यसहजता वा अनुकुलता वृद्धि होला । दाम्पत्य सम्बन्ध सुमधुर हुनुको साथै पति-पत्नी छुटेर बसेको भए पनि मिलनको अवस्था सिर्जना हुने योग छ । पारिवारिक सुखशांति बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): प्रेमभाव वृद्धि र सुख बढ्नेछ । पति-पत्नीबीचको सम्बन्ध सुमधुर हुने दिन छ । व्यापारमा लक्ष्यअनुरूप सफलता प्राप्त हुनेछ । तथापि, विशेष कुनै योजनासम्बन्धी कार्य भने समयमा सम्पादन गर्न नसकिएला । निर्णायक क्षमतामा कमी आउनेछ । आत्मीय जनसँग असमझदारी वा मनमोटाव बढ्ने देखिन्छ, सचेत रहनुहोला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । पराक्रम बढ्ला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन स्वास्थ्यसम्बन्धी समस्या पैदा हुन सक्छ, खानपानमा एकदम सजक रहनुहोला । आमदानीका अवसरहरू प्राप्त हुनेछन् भने भुलेका मित्रहरुले पनि सम्झने समय छ । तर कसैसंग विवाद वा झगडा हुन सक्ने योग रहेकोले बोली र व्यवहारमा सजगता अपनाउनुहोला । विद्यार्थीहरुका लागि दिन राम्रो छ । अनुयायीहरुले प्रसन्नता दिलाउनेछन् । विशेष योजनामा गोपनियता राख्नु हितकर हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यस्तता बढ्नेछ । आज घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिने सम्भावना रहेकोले मन चिन्तित हुन सक्छ । तपाईंका कमजोरीमाथि टीकाटिप्पणी होला । बोलीको गलत अर्थ लाग्नाले वादविवादको योग छ । सहयोगीहरू टाढिन सक्छन् । तथापि, प्रेमको बन्धन कसिने बेला छ । रोकिएको काम मिहिनेतले बन्नेछ । मिठो भोजन प्राप्त होला । खर्च भने केही बढ्ने समय छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): व्यस्तता बढ्नेछ । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । आजको दिन कतै मिष्ठान्न भोजनको अवसर प्राप्त हुन सक्छ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन हुने समय छ । तथापि, काम लगनशील बन्न नसक्ता आलोचनाको सिकार बन्ने सम्भावना छ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): पराक्रम बढ्नेछ । बोलीको प्रभाव बढ्ने समय छ । अरुलाई विश्वास दिलाउन सफल भइ विशेष कार्य अघि बढाउन सकिनेछ । वैदेशिक योजनाका कार्य तीव्र गतिमा अगाडि बढ्नेछन् । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । भेटघाटको अलमलले आजको योजना बिग्रन पनि सक्छ, सचेत रहनुहोला । सन्तानपक्षबाट प्रसन्नता मिल्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आम्दानी सीमित हुनाले आर्थिक कठिनाइ आउन सक्छ । निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने हुनसक्छ । प्रेम प्रसङ्गतर्फ संयमता राखी अध्ययनमा ध्यान दिनु उचित हुनेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ, सावधान रहनुहोला । विगतको श्रमबाट धन लाभ हुने योग छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): अरुको विश्वास सजिलै जित्न सकिने समय छ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । व्यापार तथा उद्योगतर्फ पनि आज फाइदाको योग छ । तथापि, स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ । आर्थिक कारोबारमा पनि समस्या आउन सक्छ । धार्मिक कार्यमा खासै रुचि नहोला । काममा आफन्तको साथ भने मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्